ad ad

कारोबार


चौधरी फाउन्डेसनद्वारा मुलुकभर पीपीई र स्वास्थ्य सामग्री वितरण सुरु

चौधरी फाउन्डेसनद्वारा मुलुकभर पीपीई र स्वास्थ्य सामग्री वितरण सुरु

नेपालखबर
चैत १२, २०७६ बुधबार ८:९,

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न चौधरी फाउन्डेसनले मुलुकभर पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पीपीई)सहित अन्य स्वास्थ्य उपकरण उपलब्ध गराउन सुरु गरेको छ।

मुलुकको एक मात्र डलर अर्बपति विनोद चौधरीले बुधबार ट्विट गर्दै ३ दिनभित्र देशभरका सबै संवेदनशील स्थानमा पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पीपीई)सहित अन्य स्वास्थ्य उपकरण उपलब्ध गराउने घोषणा गरेका हुन्।

‘आजको आवश्यकता पैसा होइन, यी उपकरणको सहज आपूर्ति हो,’ उनले ट्विटमा भनेका छन्, ‘त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं।’

अहिलेको आवश्यकता उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा भएको भन्दै चौधरी फाउन्डेसन यसतर्फ अत्यन्तै सजग र संवेदनशील रहेको समेत उनले उल्लेख गरेका छन्।

उक्त सामग्रीको उपलब्ध गराउने काम सुरुवात भइसकेको छ। उनका अनुसार पाल्पा अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थपोस्ट (भेडाबारी), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगञ्ज)मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन जेनेरेटिङ अपाराटस, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण भइसकेका छ।

साथै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख स्वास्थ्य केन्द्रहरूमा भोलिसम्म (बिहीबार)मा आवश्यक सामग्री वितरण गरिने उनको भनाइ छ।

फाउन्डेसनले संक्रमितको उपचारका लागि तयारी गरिरहेका सबै जोखिमपूर्ण स्वास्थ्य संस्थामा पीपीइ लगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर हेल्पलाइन समेत सुरु गरेको छ। पीपीईलगायत स्वास्थ्य उपकरण आवश्यक भएमा ९५११७२३९, ९०१०६७४४३ र ९०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

‘हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो,’ चौधरीले ट्विटमा लेखेका छन्, ‘केही बाहिरी मुलुकमा हामीले किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं। यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं।’

ढुवानी सहजीकरणमा टिम खटिएको र छिट्टै समाधान हुने उनले विश्वास लिएका छन्।

‘हाम्रो अर्को चुनौती अक्सिजन जेनेरेटिङ अपाराटस र भेन्टिलेटरको हो,’ चौधरीले लेखेका छन्, ‘मुलुकभर यी उपकरण अभाव छ, आयात गर्नुको विकल्प छैन।’

यी उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि रहेको भन्दै दक्ष जनशक्तिको अभिमुखीकरणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताएका छन्।

मुख्य चुनौती र आवश्यकता अस्पताल र क्वारेन्टाइन र आइसोलेसन सेन्टरको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्री उपलब्ध गराउनु रहेको भन्दै सबैभन्दा पहिले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी सुरक्षा उपकरण उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .