कारोबार


रामेछापमा व्यावसायिक माहुरीपालन बढ्दै

रामेछापमा व्यावसायिक माहुरीपालन बढ्दै

नेपालखबर
फागुन १२, २०८१ सोमबार ९:४१, रामेछाप

रामेछाप जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरूमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ। 

मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् । कम लगानीमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ। 

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाउँमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन्। 

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पटकसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ। 

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन् । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन् । सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभए पनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए। 

उनले भने, ‘विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ। माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो।’

माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन्। सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन्। 

मन्थलीमा सदावहार बहुउद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ। छोटो तालिम पश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए। 

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन्। खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गरेका छन्।

रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाउँमा माहुरीपालन गरेका छन् । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ। 

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad