नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ र इप्पानले गरेको जलविद्युतमा लगानी र सेयर व्यवस्थापनबारेको अन्तर्क्रिया कार्यक्रममा घिसिङले आयोजनाको विषयमा आईपीओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने बताएका हुन्।
विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको घिसिङको भनाइ छ। हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भए पनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ।
२८ हजार ५०० मेगावाट विद्युत् पुर्याउनको लागि विद्युत् प्राधिकरणले अझै पीपीए खोल्ने पक्षमा रहेको बताए।
‘हाल पीपीए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्’, कार्यकारी निर्देशक घिसिङले भने, ‘पीपीए गरी निर्माण नगर्ने तर नयाँ पीपीए गर्नुपर्ने माग राख्नु कति उचित हो?’
प्राधिकरणसँग पीपीए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसँग सम्झौता गरेको क्रसबोर्डर प्रसारणलाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको उनले बताए।
नेपाल विद्युत् प्रधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै घिसिङले सर्वसाधारणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको बताए।
पछिल्लो समय जलविद्युत आयोजनाको आईपीओ रोकिनु दु:खद भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया