इ–कमर्स बादशाह अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोस संसारकै धनी उद्यमी हुन्। र, उनी १ खर्ब डलर बढी सम्पत्तिको स्वामित्व लिने आधुनिक इतिहासकै पहिलो व्यक्ति पनि हुन्।
जुलाई ५ अर्थात् आजदेखि अमेजनले २५ वर्ष पार गरेको छ। ब्लुमबर्गका अनुसार बेजोसको सम्पत्तिको १ खर्ब २० अर्ब अमेरिकी डलर रहेको छ।
यसमा अमेजनकै धेरै योगदान रहेको छ। गत अप्रिलमा जेफ श्रीमती म्याकेन्जीबीच डिभोर्स गर्ने पक्का भएको छ। दुवैको सहमतिअनुसार अमेजनको ७५ प्रतिशत सेयर जेफले राख्नेछन्। त्यस्तै वासिङटन पोष्ट, अन्तरिक्ष अनुसन्धानसम्बन्धी भेन्चर ब्लु ओरिजिनमा पनि सोही किसिमले बाँडफाँट हुनेछ।
यसरी खर्चिन्छन् आफ्नो अर्बौँ डलर

घरजग्गा व्यवसाय (रियलस्टेट)देखि अन्तरिक्ष यात्रासम्म बेजोसले सम्पत्ति खर्च गर्ने गरेका छन्। आफ्नो सम्पत्तिको अधिकांस स्रोत रहेको अमेजन सन् १९९४ जुलाई ५ मा बेजोसले स्थापना गरेका थिए। यो निर्णयप्रति उनको परिवार नै अचम्मित थियो। वालस्ट्रिटको रोजगारी छोडेर इन्टरनेटमा पुस्तक व्यापार गर्न जाने भयो भनेर सशंकित हुनपुगेका थिए। परिवारले अपरिपक्व अर्थात् भर्खरै स्थापित कम्पनीमा झण्डै २ लाख ५० हजार डलर लगानी गरे। जुन आजको दिनसम्म आइपुग्दा बढीमा ३० अर्ब डलरको सम्पत्ति हो।
कम्पनी स्थापनाका बेला उनले भर्खरै डिभोर्स गरेकी पूर्वपत्नी म्याकेन्जीबाट पनि उत्तिकै साथ र सहयोग पाए। डिभोर्स प्रक्रिया लगभग समाप्त भएसँगै म्याकेन्जीले कम्पनीको ४ प्रतिशत हिस्सा पाउने भएकी छिन्। जुन सम्पत्तिको नेटवर्थ ३८ अर्ब ६० करोड डलर हुन आउँछ।
अमेजनले सन् १९९७ को मे १५ मा कम्पनीको आईपीओ (प्रारम्भिक सार्वजनिक आह्वान) निष्काशन गरेको थियो। त्यसयता कम्पनीको सेयर मूल्य ९८ हजार प्रतिशतले बढेको छ। अमेजनको उदयले धेरै इन्टरनेट प्रतिस्पर्धी कम्पनीलाई धूलोमा डुबाइदियो। पहिलो आइपीओ निष्काशन पछि सेयर सदस्यलाई लेखेको पत्रमा बेजोसले अमेरिका अनलाइन, प्रोडिगी र याहुलाई मेन्सन गर्दै रणनीतिक साझेदारीको घोषणा गरेका थिए। अहिले त्यसमध्ये कुनै पनि व्यावसायिक अस्तित्वमै छैनन्।
विगत दुई दशकयता अमेजन राम्रैसँग झांगिएको छ। अहिले कम्पनीले ठूलो भूगोलमा उपभोग्य, विद्युतीय र डिजिटल मिडिया सामग्रीको व्यापार गरिरहेको छ। अमेजन छोटो समयमा छिटो सेवा प्रदान गर्दछ। सन् २०१८ को फेब्रुअरीसम्ममा कम्पनीको क्लाउड सर्भिस नै १७ अर्ब ५० करोड डलरको व्यवसाय बनिसकेको छ। त्यसो त विभिन्न समयमा अमेजनले धेरै एक्विजिसन(प्राप्ति) गरेर आधिपत्य बढाउन सफल भएको हो। कम्पनीले सन् २००९ मा अनलाइन शु रिटेलर जापोज नामको कम्पनी १ अर्ब २० करोड डलरमा खरिद गरेको थियो। यसलाई आठ वर्षयताकै ठूलो एक्विजिसन मानिन्छ।
त्यो रेकर्ड सन् २०१७ मा १३ अर्ब ७० करोड डलरमा होल फुड खरिद गरेसँगै तोडिएको थियो। खाद्य कम्पनी खरिदसँगै किराना पसलको संसारमा अमेजनको पकड उच्च विस्तार हुनपुगेको हो। वानक्लिकरिटेलले गरेको यही वर्षको एक अध्ययनअनुसार अमेरिकी अनलाइन ग्रोसरी (किराना) मार्केटमा अमेजनको १८ प्रतिशत हिस्सा रहेको छ। अमेजनको उदय नै बेजोसको १ खर्ब २० अर्ब डलरको मुख्य स्रोत हो। उनीसँग अहिले पनि अमेजनको धेरै सेयर स्वामित्व रहेको छ। अमेजनको १६ प्रतिशत सेयर बेजोससँग छ। पूर्वपत्नी म्याकेन्जीको डिभोर्सपत्रअनुसार दम्पतीको अमेजनमा भएको कुल सेयरमध्ये ७५ प्रतिशत उनीसँग रहेको छ।
बेजाेज र म्याकेन्जी
त्यसो त बेजोसले यो अवधिमा व्यक्तिगत र संयुक्त लगानीका अन्य थुप्रै कम्पनीमा पनि लगानी गरेका छन्। सन् १९९८ मा उनले गुगलमा १० लाख डलर लगानी गरेका थिए। उनले ब्लड टेस्टिङ बायोटेक फर्म ग्रेल, सफ्टवेयर डेभलपर वेबसाइट स्टाक ओभर फ्लो र बिजनेस इन्साइडरजस्ता थुप्रै स्टार्टअप व्यवसायमा लगानी गरिसकेका छन्। पछिल्लो समय बेजोसले प्राप्ति गरेको चर्चित अमेरिकी पत्रिका द वासिङटन पोष्ट हो। उनले यो पत्रिकामा सन् २०१३ मा २५ करोड डलर खर्चेका थिए। उनको लगानीसँगै उक्त पत्रिका डिजिटल रुपमा विस्तारित भएको छ। पाठकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
बिजनेस इन्साइडरका अनुसार उनको लागि एउटा सामान्य अमेरिकीले औसत १ डलर खर्च गरेजस्तै उनको त्यस्तो खर्च ८८ हजार डलर रहेको छ।
त्यस्तै बेजोस अमेरिकाकै भूस्वामित्व भएका धनाढ्य पनि हुन्। उनी र उनको परिवारको अमेरिकामा मात्रै पाँचवटा घर छन्। उनको वासिङटनस्थित मेडिनामा रहेका दुई घरले मात्रै ५.३ एकड जमिन ओगटेका छन्। क्यालिफोर्नियाको बेभर्ले हिल्समा उनको स्पानिस स्टाइलको भव्य महल छ। टेक्सासको भान हर्नमा जीवजन्तु पाल्ने ठाउँ छ। जुन उनको ब्लु ओरिजिन स्पेस एक्सप्लोरेसन कम्पनीको मुख्य बेस पनि हो।
सन् २०१६ मा बेजोसले वासिङटन डीसीमा एउटा टाउनहाउस खरिद गरेका थिए। त्यस्तै म्यानहटनमा २५ सेन्ट्रल पार्क वेस्टमा उनको सेन्चुरी बिल्डिङ रहेको छ। ‘द एभ्रिथिङ स्टोर’ नामको किताबअनुसार सन् २०१३ सम्म उनी होन्डा एकर्ड चढिरहेका थिए। तर उनीसँग ६ करोड ५० लाख डलर पर्ने गल्फस्ट्रिम जी६५०ईआर निजी विमान पनि छन्। यद्यपि वारेन बफेट, बिल गेट्सजस्ता धनाढ्यजसरी उनी अहिलेसम्म सार्वजनिक रुपमा दानदातव्य कार्यमा भने देखिएका छैनन्। उनीसँग भर्खरै अलग्गिएकी पूर्वश्रीमती म्याकेन्जीले भने आफ्नो अधिकांश सम्पत्ति दान गर्ने यसअघि नै घोषणा गरिसकेकी छिन्।
अमेरिकी टिभी च्यानल सीएनबीसीका अनुसार बेजोसले सियाटलको फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टर, युनिभर्सिटी अफ वासिङटन फाउन्डेसन र प्रिन्सटन युनिभर्सिटीलाई उल्लेख्य सहयोग गरेका छन्। कतिपय अस्वाभाविक उपक्रम (भेन्चर)हरुमा समेत उनले सहयोग छ। यसको उदाहरण लंग नाउ फाउन्डेसन हो। यसले ‘१० हजार वर्षे घडी’ निर्माण गर्न खोजिरहेका छ जुन वेस्ट टेक्सासको अन्डरग्राउन्ड प्रोजेक्ट हो। उक्त घडीलाई ‘सिम्बोल फर लंग टर्म थिंकिङ’का रुपमा लिइएको बेजोसले ट्विटमार्फत बताएका छन्।
बाल्यकाल छँदै नासाले एपोलो मिसनअन्तर्गत चन्द्रमाको सफल यात्रा गरेपछि उनलाई समेत अन्तरिक्ष यात्राले आकर्षित गरेको बताइन्छ। सन् २०१३ मा बेजोसले एपोलो १२ को रकेट इन्जिन रिकभरका लागि कोष स्थापना गरेका थिए। अन्तरिक्ष अनुसन्धान कम्पनी ब्लु ओरिजिन बेजोसको महत्वाकांक्षी भेन्चर हो। यसले धेरै परीक्षणमूलक उडानहरु पुनःप्रयोग गर्न सकिने न्यु शेफर्ड रकेटबाट गरेको थियो।
हाल उनको कम्पनीले नयाँ ग्लेन रकेट सिष्टमको विकास गरिरहेको छ। यसको उद्देश्य अर्का धनाढ्य एलन मस्कको स्पेस एक्ससँग प्रतिस्पर्धा गर्नु हो। बिजनेस इन्साइडरबाट

प्रतिक्रिया