कारोबार


गौरवका आयोजनाको ढिलाइबारे सांसद गौतमको प्रश्न, ओलीले भने- सरकार संवेदनशील छ

निर्माण व्यवसायीलाई बाँकी भुक्तानीमध्ये साढे २२ अर्ब दिएको प्रधानमन्त्रीको जवाफ
गौरवका आयोजनाको ढिलाइबारे सांसद गौतमको प्रश्न, ओलीले भने- सरकार संवेदनशील छ

नेपालखबर
फागुन ४, २०८१ आइतबार १४:५१, काठमाडौँ

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न नसकेकोमा संसद्‍मा प्रश्न उठेको छ।

सांसद प्रतिमा गौतमले सिक्टा र बबई सिँचाइ आयोजनासहित राष्ट्रिय गौरवका आयोजना सम्पन्न नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेकी हुन्।

सांसद गौतमले बहुवर्षीय ठेक्का लागेर वर्षौँसम्म सम्पन्न नहुने गरेको बताउँदै आयोजना समयमै सम्पन्न गर्न सरकारले के गरिरहेको भन्दै प्रश्न उठाइन्। 

आइतबार संसद्‍मा भएको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले  सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमा सम्पन्‍न गर्ने विषयमा सरकार संवेदनशील रहेको दाबी गरे।

‘मेरो सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्‍न गर्न तथा  निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान गर्न मैले सुरुदेखि नै पहल गरिरहेको छ’, ओलीले जवाफ दिँदै भने, ‘आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा भुक्तानी गर्न बाँकी दायित्वमध्ये हालसम्म २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भइसकेको छ।’

ठूला राष्ट्रिय परियोजनाको लागि स्रोतको समस्या आउन नदिन सम्बन्धित मन्त्रालयलाई बजेट तर्जुमाको लागि प्रदान गरिएको बजेट सिलिङबाट त्यस्ता आयोजनाका लागि सो आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन गरी इयरमार्क गरेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट छुट्याउने गरी नीतिगत प्रबन्ध गरिएको प्रधानमन्त्रीको दाबी थियो।

प्रधानमन्त्री ओलीले नयाँ बहुवर्षीय आयोजनाका लागि स्रोत सुनिश्चित गर्दा विस्तृत आयोजना प्रतिवेदन वा विस्तृत इन्जिनियरिङ्ग डिजाइन स्वीकृत भएको, वातावरणीय मूल्याङ्कनसम्बन्धी परीक्षण सम्पन्न भएको, जग्गाप्राप्तिको प्रक्रिया टुङ्गिएको, साइट क्लियरेन्स भएको, मध्यमकालीन खर्च संरचनामा समावेश भएको तथा खरिद गुरुयोजना तथा कार्यान्वयन योजना स्वीकृत भएको आयोजनाको कार्यान्वयन आवश्यक र औचित्यपूर्ण देखिएमा स्रोतको उपलब्धताको आधारमा मात्र स्रोत सहमति दिने कानुनी व्यवस्था गरिएको उल्लेख गरे। 

‘राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला राष्ट्रिय परियोजनाका लागि स्रोतको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयको लागि विनियोजित बजेटमध्ये कुनै कार्यक्रम सञ्चालन हुन नसक्ने वा कुनै शीर्षकमा विनियोजित बजेटमध्ये केही वा पूरै बचत हुने भएमा रकमान्तरमार्फत त्यस्ता महत्त्वपूर्ण आयोजनाका लागि बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने गरिएको छ’, प्रधानमन्त्री ओलीले भने। 

 उनले सीमित स्रोत साधनको कुशल प्रयोग गरी परियोजनाहरू समयमै प्रभावकारी रुपमा सम्पन्न हुने दाबी गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा रहेको एक्सन रुमबाट समय-समयमा आयोजनाहरूको अनुगमन गरी समयमै सम्पन्न गर्न सहजीकरण र निर्देश गरेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad