कारोबार


शिखर इन्स्योरेन्सले सबै अटो ब्राण्डसँग सहकार्य गरिरहेको छः अन्जन ढकाल

शिखर इन्स्योरेन्सले सबै अटो ब्राण्डसँग सहकार्य गरिरहेको छः अन्जन ढकाल

नेपालखबर
असार २०, २०७६ शुक्रबार ८:०,

आर्थिक वर्ष २०७३/०७४ मा निर्जीवन बीमाको प्रिमियम १३ अर्ब रुपैयाँ मात्र थियो। आर्थिक वर्ष ४०७४/०७५ मा यो बढेर २२ अर्ब रुपैयाँ पुग्यो र चालू आर्थिक वर्षमा २६ अर्ब रुपैयाँभन्दा माथि जाने अनुमान छ। यस हिसाबले निर्जीवन बीमाको वृद्धि दोब्बर भइरहेको छ। जीवनतर्फ बीमालेख बिक्रीको आधारमा गणना हुन्छ भने निर्जीवनमा प्रिमियमलाई आधार मानिन्छ। नेपालमा जीवन बीमाको पहुँच पनि वृद्धि हुँदै गइरहेको छ। हाल कुल जनसंख्याको १८ प्रतिशत बीमाको पहुँचमा रहेको तथ्याङ्क बीमा समितिको छ भने यो वर्ष २० प्रतिशत पुग्ने आँकलन छ। नेपालको बीमा नीति र बीमा कम्पनीको अवस्थामाथि शिखर इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालसँग नेपालखबरले गरेको कुराकानीः

चालू आवमा तपाईंको कम्पनीको वित्तीय अवस्था कस्तो रह्यो?
सरल रुपमा भन्नुपर्दा सन्तोषजनक नै रह्यो। भर्खरै मात्र निकालिएको तेस्रो त्रैमासिक लेखापरीक्षण हुन बाँकी वित्तीय परिणाम हेर्ने हो भने कम्पनीले ३३ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ। इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म कमाएको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८.४३ प्रतिशतले धेरै हो। गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३१ करोड एक लाख रुपैयाँ थियो।

चुक्ता पुँजी एक अर्ब पाँच करोड रहेको कम्पनीको बीमा कोषमा एक अर्ब एक करोड ९३ लाख सञ्चित रहेको छ। इन्स्योरेन्सको महाविपत्ति कोषमा पाँच करोड २८ लाख रुपैयाँ सञ्चित छ।

अहिले निर्जीवन बीमाको अवस्था कस्तो छ?
नेपालमा निर्जीवन बीमा व्यवसायले सात दशक पार गरिसकेको छ। अहिले निर्जीवन बीमाप्रति मानिसहरुको चेतना बढेको छ र दायरा पनि बढिरहेको छ। तर अझै धेरै विस्तार गर्न आवश्यक छ। बजार बढिरहेकाले यो क्षेत्रमा उत्साह देखिएको छ।

नयाँ बीमा ऐन निर्माण भएको छ। यसले बीमा कम्पनीहरु र बीमा क्षेत्रलाई कस्तो सहयोग पुर्याएको छ?
बीमा ऐनकै आधारमा बीमा कम्पनी सञ्चालन हुने हुँदा बीमा ऐनको ठूलो प्रभाव पर्छ। नयाँ बीमा ऐनअनुसार धेरै क्षेत्राधिकार भएको बीमा प्राधिकरण गठन हुने र यसले बीमा व्यवसायलाई अझै व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्ने भएकाले यो व्यवसाय सुदृढ र अनुशासित हुन्छ भन्ने हाम्रो विश्वास छ।

यस क्षेत्रका चुनौतीहरु के–के रहेका छन्?
नेपालमा बीमा क्षेत्र विकासोन्मुख चरणमा रहेकाले यस क्षेत्रमा विभिन्न चुनौती र अप्ठ्याराहरु छन्। मुख्य गरी तीन चुनौतीको सामना बीमा क्षेत्रले गर्नुपरेको छ। पहिलो, सहरी क्षेत्रमा बीमा व्यवसाय बढी विस्तार भएको छ तर ग्रामीण क्षेत्रसम्म पुग्नसकेको छैन। कृषि तथा लघु बीमाले ग्रामीण क्षेत्रमा दायरा विस्तार गरे पनि त्यसमा सबैलाई समेट्न सकेको छैन। दोस्रो, बीमासम्बन्धी जनचेतनामा कमीका कारण सन्तोषजनक रुपमा यसको विस्तार हुनसकेको छैन। त्यस्तै तेस्रो, बीमा कम्पनीको संख्या निकै बढेको छ। यसले अस्वस्थ प्रतिस्पर्धा पनि बढाउँदै लगेको छ।

नयाँ बीमा कम्पनी थपिँदा बजारमा कस्तो प्रभाव पार्ला?
हो, अहिले बजारमा बीमा कम्पनीहरु थपिइरहेका छन्। नयाँ कम्पनी थपिनु स्वाभाविकै हो। यसले बजार विस्तारमा ठूलो सहयोग मिलेको छ। तर भर्खरै मात्र बीमा समितिले बीमा कम्पनीहरुलाई बलियो बनाउन एक आपसमा गाभिनका लागि बीमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ जारी गरेको छ। यसले कम्पनीहरुलाई गाभिएर अगाडि बढ्ने बाटो खुल्ला भएको छ। यसले निर्जीवन बीमा कम्पनीको सेवाको स्तर र क्षमता दुवै बढ्ने देखिन्छ।

Dhakal2

तपाईंको कम्पनीको बीमा नीतिबारे जानकारी गराइदिनुहोस् न।
बजारमा नयाँ बीमालेखहरु बढिरहेका छन्। नयाँ नयाँ कम्पनीहरु थपिएसँगै नयाँ नयाँ बीमालेखहरु पनि थपिँदै गएका छन्। यसले बीमा क्षेत्रको विस्तार गरेको छ। शिखर इन्स्योरेन्सको बीमालेखको कुरा गर्नुपर्दा हामीसँग नगदरहित स्वास्थ्य बीमा, ढुक्क मनस्थिति बीमा, ‘होल इन वन’ बीमा, मौसम सूचकांकमा आधारित बाली बीमा आदि रहेका छन्। बजारको आवश्यकता हेरी थप नयाँ बीमालेख ल्याउने तयारीमा छौं।

निर्जीवन बीमामा तपाईंहरुको मुख्य ध्यान केमा रहेको छ?
विशेषगरी हाम्रो ध्यान भनेको ग्राहकलाई छिटो, सरल र भरपर्दो सुविधा उपलब्ध गराउने भन्ने नै हो। हाल प्रचलनमा रहेका बीमालेखले समेट्न नसकेको जोखिम तथा क्षेत्रमा बीमा पहुँच पु¥याउने कार्यमा विशेष ध्यान दिइरहेका छौं।

शिखर इन्स्योरेन्सले देशका कुन कुन स्थानबाट सेवा दिइरहेको छ?
देश संघीयतामा गएसँगै सबै प्रदेशबाट सेवासुविधा दिँदै आएका छौँ। हाल कम्पनीका ९३ भन्दा धेरै शाखा रहेका छन्। बीमा सेवालाई देशभर विस्तार गर्न हामी प्रतिबद्ध छौँ।

पछिल्लो समय बीमा कम्पनी र बैंकबीच पनि सहकार्य बढिरहेको छ, हैन?
बैंक र बीमा कम्पनी भनेका अर्थतन्त्रका दुई महत्वपूर्ण अंग हुन्। दुवै संस्थाहरु एकअर्काका परिपूरक हुन् भन्दा पनि फरक पर्दैन। बैंक र बीमा कम्पनीको सहकार्य हुनु भनेको ग्राहकलाई नै फाइदा हो। उनीहरुले बीमा गर्नकै लागि बीमा कम्पनी धाउनुपर्दैन। बैंकले इन्स्योरेन्स सेवा दिने हुँदा नै यसलाई बैंकास्योरेन्स सेवा भनिएको हो। यसले ग्राहकलाई नै फाइदा हुन्छ।

नेपालीहरुको बीमाप्रतिको बुझाइ कस्तो छ?
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अवस्थामा अनिवार्य गर्नुपर्ने बीमा र नेपाल सरकारबाट अनिवार्य गरिएको सवारीसाधनको तेस्रो पक्ष बीमा लिनेबाहेक स्वेच्छाले बीमा लिने संस्कार अझै राम्रोसँग विकास भइसकेको छैन। तर २०७२ को भूकम्पपछि भने बीमा गर्ने परिपार्टी बढ्दै गएको छ।

नेपालको निर्जीवन बीमा क्षेत्रको ठूलो हिस्सा अटोले ओगटेको छ, त्यसमा शिखर इन्स्योरेन्सको अवस्था कस्तो छ?
नेपाल सरकारबाट सवारीसाधनको अनिवार्य रुपमा तेस्रो पक्षको बीमा गर्नुपर्ने व्यवस्था छ। त्यसकारणले अहिले यसको बीमा धेरै देखिएको हो। यसको प्रिमियम पनि धेरै देखिएको छ। हामी पनि यसमा राम्रो उपस्थिति जनाउँदै आएका छौँ। अटोको नै कुरा गर्ने हो भने हामी अहिले प्रायः सबै ब्राण्डसँग सहकार्य गरिरहेका छौँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad