कारोबार


धमाधम इन्भेस्टमेन्ट कम्पनी खोल्दै जीवन बिमा कम्पनीहरू

तीनवटाले खोले, पाँचवटा पाइपलाइनमा
धमाधम इन्भेस्टमेन्ट कम्पनी खोल्दै जीवन बिमा कम्पनीहरू

सम्झना घिमिरे
माघ २९, २०८१ मंगलबार १४:१५, काठमाडौँ

बिमा कम्पनीहरु धमाधम लगानी विविधीकरणमा लागेका छन्। 

बैंकले दिने ब्याज घटेपछि कम्पनीहरु लगानीका नयाँ क्षेत्र खोजीमा केन्द्रित भएका हुन्।

यसअघि उनीहरु बैंकको निक्षेपमा लगानीको ९० प्रतिशतसम्म पैसा राखेर ब्याज आम्दानी गरिरहेका थिए। 

सरकारले १२ क्षेत्रमा लगानी गर्ने बाटो खोलिदिँदा पनि ब्याज आम्दानी राम्रो हुँदा विविधीकरण गर्नेतिर बिमा कम्पनीहरुको ध्यान थिएन।

अहिले ७ खर्ब बढीको लगानीयोग्य पुँजी बोकेर बसेका जीवन बिमा कम्पनीहरुले लगानीका लागि छुट्टै सहायक कम्पनी खोल्न थालेका छन्। 

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणबाट इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको अनुमति लिइसकेको छ। कम्पनीले गत वर्षबाट नेपाल लाइफ क्यापिटल पनि सञ्चालनमा ल्याइसकेको छ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीका अनुसार प्राधिकरणबाट सहायक कम्पनीको रुपमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने अनुमतिपछि कम्पनी सञ्चालनमा ल्याउने काम सुरु भइसकेको छ। 

यसबाहेक अन्य ५ बीमा कम्पनीहरु पनि प्राधिकरणको स्वीकृति कुरिरहेका छन्। 

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५० करोड चुक्ता पुँजीसहितको सूर्यज्योति लाइफ इन्स्योरेन्स इन्भेस्टमेन्ट कम्पनी खोल्न प्राधिकरणको अनुमति पर्खिरहेको छ। 

यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले पनि २९ करोड चुक्ता पुँजी पुर्‍याएर सन नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको लागि प्राधिकरणसँग अनुमति मागेको छ। त्यसैगरी हिमालयन रि इन्स्योरेन्सले ३२ करोडको चुक्ता पुँजीसहितको हिमालयन क्यापसर्ब लिमिटेडमार्फत नेपाल अपरच्युनिटी फन्ड र एनआईबीएल इक्विटी पार्टनर फन्डका लागि प्राधिकरणसँग अनुमति मागेको छ। 

हिमालयन लाइफ इन्स्योरेन्सलेले १५ करोड चुक्ता पुँजीसहितको हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड सञ्चालन गरिरहेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सले ६० करोडको चुक्ता पुँजीसहित सन नेपाल इन्भेस्टमेन्ट सञ्चालन गरिरहेको छ। 

सन नेपालले अब भने ६० करोडमा थप २९ करोड पुँजी वृद्धि गर्न प्राधिकरणमा अनुमति मागेको हो। यो कम्पनीले गत वर्षबाटै १ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजीसहित सन नेपाल क्यापिटल सञ्चालन गरिरहेको छ। यता हिमालन रिले हिमालयन होल्डिङ्स कम्पनी सहायक कम्पनीको रुपमा सञ्चालन गरिरहेको छ। गत वर्षबाटै नेशनल लाइफ इन्स्योरेन्सले पनि १० करोड चुक्ता पुँजीसहितको नेशनल क्यापिटल सञ्चालन गरिरहेको छ।

गत वर्षबाट सञ्चालनमा ल्याएको नेशनल क्यापिटलपछि अब इन्स्योरेन्सले सहायक कम्पनीको रुपमा नेशनल इन्भेष्टमेन्ट कम्पनी सञ्चालन गर्न आन्तरिक तयारी पनि गरिरहेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले लगानी विस्तारका लागि इन्भेस्टमेन्ट कम्पनी खोल्ने तयारी भइरहेको बताए। 
‘लगानी विस्तार गर्दै प्रतिफलउन्मुख लगानी गर्न हामीले इन्भेस्टमेन्ट कम्पनी खोल्न आन्तरिक तयारी गरिरहेका छौँ’, उनले नेपालखबरसँग भने। 

आन्तरिक तयारी पूरा भएपछि मात्रै प्राधिकरणमा अनुमतिको लागि आवेदन दिने खत्री बताउँछन्।

प्राधिकरणले बिमा ऐन २०७९ संशोधन गरेर सहायक कम्पनी खोल्न पाउने व्यवस्था गरेको छ। 

ऐनको दफा ७३ मा बिमकले प्राधिकरणबाट स्वीकृति लिई आफ्नो सहायक कम्पनी स्थापना गर्न वा त्यस्तो कम्पनीमा लगानी गर्न सक्नेछ भने उल्लेख गरेको छ। 

प्राधिकरणले छुट्टै सहायक कम्पनीको रुपमा इन्भेस्टमेन्ट कम्पनी खोल्न पाउने व्यवस्था गरेपछि खर्बौँको कोष बोकेर बसेका जीवन बीमा कम्पनीहरु धमाधम इन्भेस्टमेन्ट कम्पनी खोलेर लगानी विविधीकरण गर्न अग्रसर देखिएका हुन्।

बिमा प्राधिकरणले २०८० पुसमा जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० जारी गर्दै १२ वटा क्षेत्रमा लगानीका लागि सीमा तोकेर बाटो खोलिदिएको थियो। तर सीमा तोकिए पनि सीमाभन्दा बाहिर गएर निक्षेप केन्द्रित देखिएका जीवन बिमकहरु ब्याज घटेपछि भने लगानी विविधीकरणका लागि सक्रिय देखिन थालेका छन्। 

चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६ वटा जीवन बीमा कम्पनीहरुले बीमाकोषमा रहेको लगानीयोग्य रकमलाई विविधीकरण गर्न छुट्टै लगानी कम्पनी खोल्न लागेका हुन्। 

जोखिमको बहानामा बैंकहरुको ब्याजमै रमाउँदै आएका बीमा कम्पनीहरुले ब्याज सस्तिएर तल्लो सीमामा आइपुगेपछि आम्दानी गुमाउने आकलनका बीच लगानीलाई इन्भेस्टमेन्ट कम्पनीमार्फत विविधीकरणमा तम्सिएका हुन्। 

सबैभन्दा ठूलो फन्ड रहेको नेपाल लाइफ इन्स्योरेन्सले अनुमति पाएर इन्भेस्टमेन्ट कम्पनी सञ्चालन सुरु गर्दैगर्दा अन्य कम्पनीहरु पनि अनुमति पाउने क्रममा देखिएका हुन्। 

कति छ जीवन बीमा कम्पनीसँग फन्ड?
अहिले १४ वटा जीवन बीमा कम्पनीहरुसँग ७ खर्ब ३ अर्ब बराबरको फन्ड छ। जुन उनीहरुले १२ वटा क्षेत्रमा लगानी गर्न सक्छन्।

लगानीको ठूलो हिस्सा बोकेर बसेका जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म आइपुग्दा ७ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ बिमाकोषबाट लगानी गरेका छन्। 

१४ वटा जीवन बिमामध्ये सबैभन्दा ठूलो कोष नेपाल लाइफ इन्स्योरेन्ससँग र सबैभन्दा थोरै सन नेपाल लाइफ इन्स्योरेन्ससँग छ। नेपाल लाइफले पुस मसान्तसम्म बिमाकोषमा रहेको १ खर्ब ८२ अर्बबराबरको रकम निक्षेपसहित ९ वटा क्षेत्रमा लगानी गरेको छ।

समग्रमा १४ जीवन बिमा कम्पनीहरुले नेपाल सरकारको तीन तहका तथा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा ३ अर्ब रकम लगानी गर्दा वाणिज्य बैंकको निक्षेपमा ४ खर्ब ९९ अर्ब, पूर्वाधार बैंकको मुद्दतीमा ६ अर्ब ९७ करोड, विकास बैंकको मुद्दतीमा ४७ अर्ब, वित्त कम्पनीको मुद्दतीमा ६ अर्ब रुपैयाँ लगानी गरेका छन्। 

यस्तै सूचीकृत पब्लिक कम्पनीको बन्ड तथा डिबेन्चरमा १६ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्दा कृषि उत्पादन तथा वितरण, सडक पूर्वाधारलगायतमा ८ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन्। 

योबाहेक जीवन बिमा कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ९२ करोड, इन्भेस्टमेन्ट कम्पनीका सेयरमा २ अर्ब ५३ करोड र अन्य संस्थापक सेयरमा १५ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका हुन्। 

यो अवधिमा जीवन बीमा कम्पनीहरुले सूचीकृत नभएको पब्लिक कम्पनीमा भने १ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन्।

जसमा ७२ प्रतिशत हिस्सा अझै पनि निक्षेपकै छ। जीवन बिमा कम्पनीहरुले ७ खर्बमा ५ खर्ब ६ अर्बबराबरको लगानी अझै पनि वाणिज्य बैंकको निक्षेपमै मात्रै लगानी गरेका छन्। जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० अनुसार यी संस्थाहरुले वाणिज्य बैंकहरुको निक्षेपमा ३० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ। 

नियामक प्राधिकरणले लगानीको लागि १२ वटा क्षेत्रहरु खुला गरे पनि जोखिम लिन नचाहेका जीवन बिमा कम्पनीहरुले वाणिज्य बैंकको निक्षेपमा मात्रै ९० प्रतिशतसम्म लगानी गर्दै आएका थिए। 

सहज प्रतिफलमा रमाउँदै आएका बिमा कम्पनीहरुले ब्याजदर तल्लो सीमामा आएपछि भने निक्षेपमा गर्ने लगानीलाई घटाउँदै लगानी विविधीकरण गर्न सहायक कम्पनीको रुपमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न थालेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad