कारोबार


संसदमा प्रधानमन्त्रीले बनिबनाउ पूर्वाधारको जग खोसाखोस गरेको प्रचण्डको आरोप

नयाँ पूर्वाधारका चुनौतीबारे बहस चलाउन चुनौती
संसदमा प्रधानमन्त्रीले बनिबनाउ पूर्वाधारको जग खोसाखोस गरेको प्रचण्डको आरोप

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:११, काठमाडौँ

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनिबनाउ पूर्वाधारको जग खोसाखोस गरी सरकारको प्रगति देखाएको आरोप लगाएका छन्। 

त्यसको साटो नयाँ पूर्वाधारका चुनौतीमाथि बहस चलाउन उनले प्रधानमन्त्रीलाई चुनौती दिएका हुन्। 

‘प्रधानमन्त्रीको रुपमा मैले यो संसदमा रिपोर्ट कार्डको परम्परा सुरु गरेको थिएँ। तर संसदमा अहिले तथ्य होइन मिथ्यांक र आत्मरति सुनिनथालेको छ’, संसदमा उनले भने।

नियमित कामका स्वाभाविक प्रगतिलाई पनि सरकारको प्रगतिका रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउन उनले आग्रह गरे। त्यसमा आफूहरुको साथ रहने पनि उनले बताए। 

संसदमा मिथ्यांक बोल्दा आत्मरति मात्रै मिल्ने उनको भनाइ थियो। 

‘यही संसदमा अस्ति सुन्यौँ– पछिल्लो ९ वर्षमा बुटवल पाल्पा सडकखण्डमा ४२ पटक सडक दुर्घटना भएर धेरै ज्यान गएको समाचार सुनेर सम्माननीय प्रधानमन्त्री भावुक हुनुभयो। अनि उहाँले संकल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो’, प्रचण्डले भने, ‘०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको जस पनि ६ महिनाअघि आएका प्रधानमन्त्रीले लिनुपर्ने? यसले नै भन्दैन र सरकारको प्रस्तुति कति कमजोर छ भनेर?’ 

नारायणघाट सडकखण्डको प्रगति पनि ५३.३ प्रतिशत मात्रै रहेको भन्दै उनले प्रधानमन्त्रीलाई आफूले आफैँलाई सफलताको प्रमाणपत्र नदिन चेतावनी दिए। 

‘प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, आफैँले आफूलाई प्रमाणपत्र दिएर, सफल घोषणा गरेर संसद् र जनतालाई झुक्याउने दिन गए। यो भ्रममा नबस्न म अनुरोध गर्छु’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad