कारोबार


भारतले ५ वर्षमा नेपाललाई दियो ६० अर्ब, कति भयो खर्च?

भारतले ५ वर्षमा नेपाललाई दियो ६० अर्ब, कति भयो खर्च?

नेपालखबर
माघ २०, २०८१ आइतबार १४:२७, काठमाडौँ

भारतले हरेक वर्षको आफ्नो बजेटमा छिमेकी राष्ट्रहरुका लागि समेत आर्थिक सहयोगस्वरुप विनियोजन गर्छ। आफ्ना छिमेकीलाई दिने अनुदान सहयोग पाउनेमा भुटान, श्रीलंका, माल्दिभ्सलगायतसँगै नेपाल पनि पर्छ।

पछिल्ला ५ वर्षमा भारतले नेपालका लागि ६० अर्ब नेपाली रुपैयाँ बजेट छुट्याएको छ। यसमध्ये ४९ अर्ब ७० करोड रुपैयाँ खर्च भए पनि १० अर्ब रुपैयाँ खर्च गर्नसकेको छैन।

भारतले ५ वर्षमा ३७ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएकोमा ३१ अर्ब ७ करोड भारु मात्रै खर्च भएको हो। 

आर्थिक वर्ष २०२३/०२४ मा भारतले नेपाललाई ५ अर्ब ५० करोड बजेट छुट्याएको थियो। तर पछि संशोधन भई ६ अर्ब ५७ करोड भारतीय रुपैयाँ कुल खर्च गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०२४/०२५ मा ७ अर्ब र चालू आर्थिक वर्षका लागि पनि ७ अर्ब नै भारतीय रुपैयाँ विनियोजन गरिएको छ। 

आर्थिक वर्ष ०२२/०२३ मा ७ अर्ब ५० करोड विनियोजन गरे पनि ४ अर्ब २५ करोड भारतीय रुपैयाँ मात्रै खर्च भएको छ। 

यता आर्थिक वर्ष ०२१/०२२ मा ४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ। सो वर्ष सुरुमा ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ बजेट विनियोजन भएको थियो। 

त्यसअघिको सन् २०२०/०२१ मा ८ अर्ब ७९ करोड भारतीय रुपैयाँ अनुदान सहायता प्राप्त भएको थियो। सुरुमा भने ८ अर्ब बजेट छुट्याइएको थियो। 

त्यसैगरी आर्थिक वर्ष २०१९/०२० मा ११ अर्ब ९८ करोड भारतीय रुपैयाँ खर्च भएको छ। 

भारतले सन् २०२३/०२४ मा विभिन्न देशका लागि ५५ अर्ब ४६ करोड भारतीय रुपैयाँ अनुदान दिएको थियो। यसैगरी २०२४/०२५ को बजेटमा ४८ अर्ब ८३ करोड वैदेशिक अनुदान घोषणा गरेकोमा ५८ अर्ब ६ करोड खर्च हुने अनुमान गरेको छ। आगामी आर्थिक वर्षका लागि भारतले ५४ अर्ब ८३ करोड वैदेशिक सहायताको लागि छुट्याएको छ। 

भारतले भुटानलाई सबैभन्दा बढी आर्थिक सहयोग गर्दै आएको छ। यसअनुसार भुटानले २०२३/०२४ मा २३ अर्ब ३२ करोड, ०२४/०२५ मा २० अर्ब ६८ करोड भारतीय रुपैयाँ छुट्याएकोमा संशोधन गरी २५ अर्ब ४३ करोड भारु पुर्‍याएको छ। 

आगामी आर्थिक वर्षको लागि भुटानलाई भारतले २१ अर्ब ५० करोड भारु बजेट विनियोजन गरेको छ।

भारतले माल्दिभ्सलाई ठूलो बजेट दिने गरेकोमा पछिल्ला २ वर्षमा कटौती भएका छन्। माल्दिभ्सका लागि आर्थिक वर्ष २०२३/०२४ मा ८ अर्ब ३२ करोड बजेट खर्च गरेको भारतले ०२४/०२५ मा आधाले घटाएर ४ अर्ब मात्रै छुट्याएको थियो। हाल संशोधन गरी ४ अर्ब ७० करोड पुर्‍याएको छ। आगामी वर्षको लागि भने ६ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ। 

यता अफगानिस्तानको लागि १ अर्ब, बंगलादेशको लागि १ अर्ब २० करोड, श्रीलंकाको लागि ३ अर्ब, म्यान्मारको लागि ३ अर्ब ५० करोड, मंगोलियालाई ५ करोड र मौरिससको लागि ५ अर्ब भारु सहयोग दिने बजेटमा उल्लेख छ। 

अफ्रिकन देशहरुका लागि २ अर्ब २५ करोड भारु छुट्याएको भारतले युरेसियन देशहरुका लागि ४० करोड, ल्याटिन अमेरिकन देशहरुको लागि ६० करोड र अन्य विकासोन्मुख देशहरुका लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ। 

भारतले मौरिससमा भुटान र नेपालपछि बढी सहयोग गर्दै आएको छ। आर्थिक वर्ष ०२१/०२२ मा ८ अर्ब ३९ करोड बजेट खर्च गरेको थियो। त्यसैगरी ०२२/०२३ मा ९ अर्ब बजेट छुट्याएकोमा ५ अर्ब ७५ करोड खर्च भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad