कारोबार


नारायणगढ–बुटवल सडक अलपत्र पारेको चिनियाँ कम्पनीले गर्‍यो सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

अर्थमन्त्री भन्छन्- सिद्धार्थ राजमार्गलाई डेडिकेटेड २ लेनको बनाउँदै छौँ
नारायणगढ–बुटवल सडक अलपत्र पारेको चिनियाँ कम्पनीले गर्‍यो सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

वसन्त अर्याल
माघ ११, २०८१ शुक्रबार १६:३२, काठमाडौँ

नारायणगढ–बुटवल सडक अलपत्र पारेको चाइना स्टेट कन्स्ट्रक्सनले सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेको छ।

काठमाडौं र पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेलाई समयमै काम नगर्दा अप्ठ्यारो बनाएको चिनियाँ कम्पनीले सिद्धबाबामा नियमित काम गरी १ किमि लामो सुरुङ छिचोलेको हो। 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमै सिद्धार्थ राजमार्गअन्तर्गतको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्। 

१.८९ मिटर लम्बाइको सुरुङमार्ग आज छिचोलिए पनि यसअघि नै ३ वटा बाइपास छिचोलिइसकेको थियो।

‘सिद्धबाबा सुरुङमार्गले पश्चिमका पहाडी जिल्लाबासीलाई सहज हुनेछ’, प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘सुरुङमार्ग ब्रेक थ्रु भए पनि सडक निर्माणका केही काम बाँकी छन्। मुख्य काम भइसकेकाले अरु काम तीव्र गतिमा अघि बढ्छ।’

आयोजनाका अनुसार सुरुङमार्ग ब्रेक थ्रु भए पनि गाडी कुद्न अझै एक वर्ष बढी लाग्नेछ। 

कुल भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको सुरुङमार्गको सबै काम २०८३ सालमा सक्ने योजना छ। 

बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भीरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ। 

हालसम्म दक्षिण भेगामा कुल २३ सय वर्ग मिटर स्लोपको काम गर्नुपर्नेमा १५०० वर्गमिटर काम भएको छ। दक्षिणमा ११ सय वर्गमिटरमध्ये ५०० वर्गमिटर काम सकिएको छ। 

पहिरो रोक्न चट्टानमा ९ हजार ६२० वर्ग मिटर क्षेत्रफलमध्ये ४८१ वर्गमिटर र अर्कोतर्फ ७ हजार ४४० मिटरमध्ये १४ सय १४ वर्गमिटर पहिरो जान रोक्ने काम भइरहेको छ। 

तिनाउ नदीमा एकतर्फ १८ सय वर्गमिटर पहिलो रोकथापमको लागि काम गर्नुपर्नेछ। उक्त काम सुरु हुनसकेको छैन। 

एक वर्षभित्रै गाडी चल्ने आशा
वि.सं. २०७८ फागुनमा सुरुङ निर्माणको ठेक्का सम्झौता गरे पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको थियो।

चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन संसारकै ठूलो निर्माण कम्पनीमा पर्छ। तर नेपालमा भने उसले आफ्नो उत्कृष्टता भने देखाउन सकेन। 

कम्पनीले नेपालमा बुटवल–नारायणगढ, काठमाडौं तराई द्रुतमार्गमा सुरुङ तथा पुलसहितको ठेक्का पाएको छ। उता बुटवल–नारायणगढ सडक विस्तार २०७५ पुसमा ३ वर्षमा काम सक्ने गरी ठेक्का पाएको थियो। ११३ किमि उक्त सडक २ खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ। 

प्रधानमन्त्री ओलीले नै चीन भ्रमणअघि डिसेम्बरसम्म उक्त सडकको काम सुरु नभए ठेक्का तोड्ने चेतावनी दिएका थिए। एक महिनायता चिनियाँ कम्पनीले सडकको पनि काम सुरु गरेको छ। तर ६ वर्षमा आधा मात्रै काम भएको छ। 

सिद्धबाबा सुरुङ दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको हो। 

ब्लास्टिङ विधिबाट छेदन गरिएको सुरुङमार्ग २०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी ठेक्का लगाएको थियो। 

सो समयमा पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा यसको ठेक्का लिएको थियो। 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफैँले देखेको सपना सोचेभन्दा चाँडै पूरा हुनलागेको बताए। 

‘वर्षातमा मात्र होइन हिउँदमा समेत पहिरो खसेर कैयौँको ज्यान लिएको सिद्धबाबाको कुहिरे भीरले हामीलाई वर्षौँ दुःख दियो। विज्ञ प्राविधिकहरुसहितको विस्तृत अध्ययनबाट अन्त्यमा हामी सुरुङमार्ग निर्माणको निर्णयमा पुग्यौँ’, अर्थमन्त्री पौडेलले सम्झिए, ‘आफैँले देखेको सपना सोचेभन्दा चाँडै पूरा हुन लाग्दा हामी हर्षविभोर छौँ।’

उनले सुरुङमार्ग निर्माणलाई कतिपयले हसीमजाकको विषय बनाएको  बताउँदै भीरमा सुरुङमार्ग सफल हुनै नसक्ने जिद्दी गरेको स्मरण गरे। 

‘बजेट सक्न खोजेको आरोप पनि खेप्यौँ। तर हामी मृत्युमार्गलाई जीवनमार्ग बदल्ने अभियानमा अविचलित भएर लागिरह्यौँ’, पौडेलले शुक्रबार भने। 

सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायतका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ।

सिद्धबाबा सुरुङमार्गको बुटवल खण्ड र तानसेन खण्डसमेत पहिरोको जोखिम छ। बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट र स्लोप प्रोटेक्सन गर्ने ठेक्कामा समावेश छ।  

सुरुङमार्ग ब्रेक थ्रु भए पनि गाडी सञ्चालन हुन अझै १ वर्ष लाग्नेछ। अहिले अस्थायी सपोर्ट दिएर सुरुङमार्गको काम भइरहेको छ।

लाइनिङको काम बाँकी नै छ। सुरुङभित्र गाडी गुड्ने सडकको ढलान, विद्युतीकरण, भेन्टिलेसनको काम बाँकी नै छन्।

मन्त्री पौडेलले यसलाई नेपाल सरकारको लगानीको पहिलो सुरुङमार्ग भएको बताए। बुटवलदेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग डेडिकेटेड २ लेनको बनाउने तयारी रहेको पनि उनको भनाइ छ। 

‘करिब १८ देखि २० किलोमिटर दूरी घट्ने गरी मोड र स–साना सुरुङमार्ग बनाउँछौँ’, उनले थपे, ‘बुटवलबाट साढे २ देखि ३ घण्टामा पोखरा पुग्ने गरी सडक निर्माण हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad