कारोबार


सांसद चौधरीको पहलपछि नारायणगढ-बुटवल सडक निर्माणले गति लियो

सांसद चौधरीको पहलपछि नारायणगढ-बुटवल सडक निर्माणले गति लियो

नेपालखबर
माघ ९, २०८१ बुधबार ११:५९, काठमाडौँ

नारायणगढ–बुटवल सडक निर्माणले गति लिन थालेको छ। पश्चिम नवलपरासीका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको विशेष पहलपछि नारायणगढ-बुटवल सडक निर्माणले गति लिन थालेको हो। 

समयमै निर्माण कार्य नसकिँदा यो सडक भएर यात्रा गर्नेले वर्षौंदेखि सास्ती पाउँदै आएका छन्।

नवलपरासीबाट निर्वाचित भएदेखि नै सांसद चौधरीले यो सडक निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै आएका छन्। सांसदकै हैसियतमा उनले केन्द्रीय सरकारको सम्बन्धित मन्त्रालय, चिनियाँ ठेकेदार र परियोजना कार्यान्वयनमा खटिएका परियोजना प्रमुखहरुसँग बारम्बार छलफल गर्दै आएका छन्। 

‘सांसद चौधरीले नारायणगढ-0बुटवल सडक निर्माणलाई प्राथमिकतामा राख्नु भएको छ। विगतमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले पनि यत्तिकै चासो राखिदिएको भए सडक निर्माणमा यस्तो विलम्ब हुने थिएन,’ नवलपरासीको सरावल गाउँपालिकाका पूर्वअध्यक्ष राधेश्याम चौधरीले भने, ‘उहाँ नवलपरासी आउँदा प्रत्येकपटक यस विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ।’

सीडीओ, सडक कार्यालय र सम्बन्धित सरकारी निकायका प्रतिनिधिलाई एकै ठाउँमा राखेर सांसद् चौधरीले काम छिटो अगाडी बढाउन दवाव दिँदै आएका छन्। 

‘बुटवलदेखि नारायणगढसम्म प्रतिनिधित्व गर्ने धेरै सांसद् हुनुहुन्छ, तर विनोद चौधरीले जस्तो पहल लिने अरु सांसद मैले देखेको छैन,’ पूर्वअध्यक्ष चौधरीले भने।

आगामी चैत्र सम्ममा कम्तिमा एकतर्फी सडक कालोपत्रे गर्ने लक्ष निर्माण कम्पनीले लिएको छ। यात्रुले सधैँभरि सास्ती भोगिरहेको दाउन्ने सडकमा एकतर्फी नै भएपनि कालोपत्रे हुँदा यात्रुलाई ठूलो राहत मिलेको छ।

बुटवल-काठमाडौँ दैनिक यात्रा गर्ने हायस चालक वीर बहादुर कुँवरले अब यो सडक चाँडै निर्माण हुनेमा आफू आशावादी रहेको बताए। ‘मैले सांसद चौधरीको विशेष पहलमा सडक निर्माण तिब्रता पाएको थाहा पाएँ,’ उनले भने, ‘वर्षौदेखि हामीले भोगेको समस्या अब कम होला भन्ने आशा पलाउन थालेको छ।’ 

बुटवल- नारायणगढ सडक खण्डको दाउन्नेमा पहाड काट्ने, कालोपत्र गर्ने र कल्भर्ट बनाउने कार्य तीव्र गतिमा अगाडी बढेको छ। आयोजनाका अनुसार अहिलेसम्म नारायणघाट-बुटवल सडकको पूर्वी र पश्चिम दुवै खण्डमा गरेर ५४ प्रतिशत काम भएको छ। आगामी चैत्र सम्म कम्तिमा एकतर्फी कालोपत्रे गर्ने लक्ष्य ठकेदार कम्पनीको छ ।

बर्दघाट–बुटवल खण्डका प्रमुख शसांक मिश्रले सडक निर्माणलाई तिब्रता दिन सांसद विनोद चौधरीले बारम्बार ताकेता दिँदै आएको बताए। आयोजनाका सूचना अधिकारी बेचन कुमार भण्डारीले सडक निर्माण कार्यले गति लिन थालेको बताए । 

‘विगत दुई महिनादेखि सडक निर्माण कार्यले राम्रो गति समातेको छ। यही गतिले काम भयो भने लक्ष्य अनुसार कम्तिमा एक साइड कालोपत्रे गर्ने काम आगामी चैतसम्म पूरा हुनेछ,’ भण्डारीले भने।   

सांसद चौधरीले जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा विभिन्न चरणका बैठक आयोजना गरी सडक निर्माणको अवरोध हटाउन सम्बद्ध निकायलाई झक्झकाउने काम गरिरहेका छन्।  स्थानीय जनप्रतिनिधि एवं समुदायसँगसमेत बारम्बार छलफल गर्दै निर्माण कार्यलाई थप सहज बनाउन उनले पहल लिएका हुन्।

सडक निर्माणमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै सांसद चौधरीले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग समन्वय गरी २०८० साल माघ २२ गते मन्त्रालयमा बृहद समिक्षा बैठक आयोजना गरेका थिए। 

बैठकमा ठेकेदार, परामर्शदाता, परियोजना प्रमुख, स्थानीय निकायका प्रतिनिधि र सडक विभागका अधिकारीको सहभागिता थियो। 

आम नागरिकको लाइफलाइन मानिने ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडक खण्ड महेन्द्र राजमार्ग अन्तर्गत पर्छ। जसमा दुवैतर्फ सर्भिस लेनसहित ४ लेनको आधुनिक राजमार्ग निर्माण भइरहेको छ। 

एशियाली विकास बैंकको १७ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजना देशको पूर्व–पश्चिम यातायात प्रणालीको मुटुका रूपमा चिनिन्छ। यो परियोजनाको निर्माण निकै सुस्त गतिमा अगाडी बढिरहेका थियो। तर, पछिल्लो ९ महिनादेखि भने काम ठप्प जस्तै थियो।

२०७५ चैत ८ मा सुरु भएको राजमार्ग विस्तारको काम २०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । कोरोना संक्रमण र निर्माण सामग्री अभावको कारण देखाएर पहिलोपटक २०८० साउन ११ सम्म म्याद थपिएको थियो।

नारायणगढ–बुटवल सडक निर्माण गति लिएपछि यसले नवलपरासीसहित देशको पूर्व–पश्चिम आवतजावत र व्यापारिक गतिविधिलाई सहज बनाउन ठूलो योगदान दिने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad