कारोबार


मन्त्रिपरिषद्‍ले स्वीकृत गर्‍यो २८ हजार ५०० ऊर्जा विकास मार्गचित्र, १० वर्षमा ६२ खर्ब लगानी गर्नुपर्ने

मन्त्रिपरिषद्‍ले स्वीकृत गर्‍यो २८ हजार ५०० ऊर्जा विकास मार्गचित्र, १० वर्षमा ६२ खर्ब लगानी गर्नुपर्ने

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८१ बुधबार १५:१७, काठमाडौँ

‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ मा बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५००  मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो। 

मन्त्रालयको प्रस्ताव पारित भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुने गरी विद्युत् आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको बताए। 

‘लगानीकर्तालाई सहज बनाउने र स्वदेशीसहित विदेशी लगानीकर्तालाई लगानी गर्ने बाटो खुला गर्ने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेका थियौँ, उक्त प्रस्ताव पारित भएसँगै सरकारले जलविद्युत क्षेत्रमार्फत राखेको ‘समृद्ध नेपाल’को लक्ष्य पूरा हुनेछ’, खड्काले भने। 

उक्त मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रारुपका जलविद्युतहरुलाई अघि बढाउन मार्गप्रशस्त गरेको छ। मन्त्री खड्काले जुन मोडलमा जुन आयोजनामा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुने गरी प्रक्रिया बढाउन अब बाटो खुला भएको बताए। 

सकेसम्म जनताको सहभागिता हुने र राज्यलाई अधिकतम फाइदा हुने गरी एकैपटक आयोजना अगाडि बढाउन लागेको ऊर्जामन्त्री खड्काको भनाइ छ।

सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६.५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ। लामो समयको छलफल र बहसपछि मन्त्रिपरिषद्‍बाट मार्गचित्र स्वीकृत कार्यविधि पास भएसँगै रोकिएर बसेका आयोजना धमाधम अगाडि बढाउन बाटो खुलेको छ। 

मार्गचित्रमा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सबस्टेसनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरणसमेत समेटिएको छ।

आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतासमेत भएको र सोबाहेक बङ्गलादेशलगायत अन्य छिमेकी देशहरुमा सन् २०३५ सम्म पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ।

सन् २०३५ सम्ममा मुलुकको कुल जडित विद्युत क्षमता नै २८ हजार ५००  मेगावाट पुर्‍याउने लक्ष्य राखिएकोमा हालसम्म करिब तीन हजार ४०० हाराहारीमा मात्र विद्युत् उत्पादन भएको छ। 

मन्त्री खड्काले आगामी दिनमा जलाशययुक्त आयोजनाहरुलाई प्राथमिकता साथ अगाडि बढाउने र निजी क्षेत्रलाई पनि सोहीअनुसार लगानी गर्न प्रोत्साहन गराउने गरी सरकारले नीति लिएको बताए। 

ऊर्जा क्षेत्रमा हुने लगानीमा सरकारी, निजी क्षेत्र एवम् आम सर्वसाधारणको समेत हिस्सा रहनेछ। यस्तै, निजी क्षेत्र, सर्वसाधारण र वैदेशिक लगानीका अतिरिक्त गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि उत्तिकै महत्त्व दिएर समावेश गरिने गरी तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad