बिमालेख परित्यागको क्रम बिमा कम्पनीहरुको नियन्त्रणबाहिर गएको छ।
पछिल्लो पाँच महिनामा बिमालेख छोड्नेको ओइरो लागेको हो।
नेपाल बिमा प्राधिकरणका अनुसार मंसिरसम्ममा १४ जीवन बिमा कम्पनीहरुको कुल ४५ हजार ६० पटक बिमालेख सरेन्डर भएको हो।
जसमा बिमितले ६ अर्ब १० करोड ७२ लाख रुपैयाँबराबरको बिमालेख त्यागेका हुन्।
पछिल्लो एक महिनामा भने बिमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर गरेका छन्।
गत कात्तिकसम्म कुल ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँबराबरको बिमा सरेन्डर भएकोमा मंसिरमा २६ प्रतिशतले बढेर ६ अर्ब १० करोड रुपैयाँ बराबरको बिमालेख सरेन्डर भएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै सरेन्डर लाइफ इन्स्योरेन्स कम्पनीमा छ। यो कम्पनीमा बिमितले १ लाख ९३ हजार रुपैयाँबराबरको ११ हजार ७९३ वटा बिमालेख सरेन्डर गरेका हुन्। कात्तिकसम्म १ अर्ब ५७ लाख रुपैयाँबराबरको १० हजार ४८ वटा बिमालेख त्याग गरेका बिमितले मंसिरमा पनि सरेन्डरलाई बढाएका हुन्।
यस्तै सर्वाधिक बिमालेख सरेन्डर हुनेमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स छ। यो कम्पनीको पनि १ अर्ब ६७ करोड रुपैयाँबराबरको १० हजार ३१६ वटा बिमालेख सरेन्डर भएका हुन्।
योबाहेक राष्ट्रिय जीवन बिमा कम्पनीको ५१ करोड, एसियन लाइफको ४० करोड, नेशनल लाइफको ३७ करोड सूर्यज्योति लाइफको ३२ करोड, हिमालयन लाइफको २८ करोड, मेट लाइफको १७ करोड र सानिमा रिलायन्स लाइफको १० करोड रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको हो।
योबाहेकका आईएमई लाइफको ८ करोड, प्रभु महालक्ष्मी लाइफको ७ करोड, सिटिजन लाइफको ८ करोड, रिलायबल लाइफको ४ करोड र सन नेपाल लाइफको २ करोड रुपैयाँबराबरको बिमालेख सरेन्डर भएका हुन्।
समग्रमा यो एक महिनामा १ अमर्ब २७ करोडको बिमालेख बिमितले त्यागेका हुन्। प्राधिकरणका अनुसार हरेक महिना एक अर्बका दरले बिमालेख सरेन्डर हुने गरेका छन्।
ऐनअनुसार बिमितले ३ किस्ता तिरेको खण्डमा मात्रै बिमालेख सरेन्डर गर्न पाउँछन् र उनीहरुले तिरेको रकम फिर्ता पाउँछन्।
तीन किस्ता तिरेर बिमालेख त्याग्नेको संख्या महिना दिनमै २६ प्रतिशतले बढ्न पुगेको हो। योबाहेक तीन किस्ता नतिर्दै बिमालेख त्याग्नेको विवरण भने प्राधिकरणले राख्ने गरेको छैन।
Shares

प्रतिक्रिया