मकवानपुर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्दो छ। पुस २४ गतेदेखि २७ गतेसम्म संघको ५८ औँ साधारण सभाका तथा अधिवेशन हुँदैछ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ।
चुनावको दिन नजिकिएसँगै अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका दुई उम्मेदवारहरू धमाधम प्रचार/प्रसारमा जुटिरहेका छन्।
आगामी ३ वर्षे नेतृत्वको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोद सिंह रानाभाट चुनावी मैदानमा उत्रिएका छन्। यी दुईजनाले आफ्नो उम्मेदवारी सहित प्यानल नै बनाएर चुनावी कार्यक्रमहरु आयोजना गर्दै आएका हुन्।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर, इन्द्रसरोवर देखि पूर्वी मकवानपुरको बागमती, बकैया र पश्चिमी मकवानपुरको मनहरीसम्म दुवै उम्मेदवार र आफ्ना प्यानलका उम्मेदवारहरु प्रचार÷प्रसारका जुटेका हुन्।
अध्यक्षका उम्मेदवारमात्रै होइन विभिन्न पदका लागि निर्वाचनमा होमिएका व्यवसायीले आफ्नो पक्षमा मतदाता रिझाउने क्रम सुरु गरेका छन्। उद्योगी व्यापारीहरू दुई खेमामा विभाजन भएर प्रचारबाजी चलिरहेको छ।
मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष रानाभाटले लगभग आफ्नो प्यानलको उम्मेदवारको नाम टुंग्याएका छन् भने अर्का उम्मेदवार अग्रवाल प्यानल निर्माणको चरणमै छन्। हालसम्मको अवस्था हेर्दा मउवा संघको अधिवेशनमा यी दुई प्यानलबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
मकवानपुरे उद्योगी, व्यवसायीको छाता संगठनका रुपमा रहेको मउवासंघमा २ हजार भन्दा बढी उद्योगी व्यवसायी सदस्य आवद्ध छन्।
रानाभाटलाई वहालवाला अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको समेत साथ छ भने अर्का उम्मेदवार अग्रवाललाई भने जिल्लाका प्रभावशाली व्यवसायी राजकुमार न्यौपानेको साथ छ।
न्यौपाने उनै व्यक्ति हुन्, जो गत मउवा संघको निर्वाचनमा कृष्णकुमार अग्रवाल गुप्तासँग ९१ मतान्तरले पराजित भएका थिए।
अग्रवालले १ हजार २४६ मत ल्याई विजयी भएका थिए भने न्यौपानेले १ हजार १५५ मत प्राप्त गरेका थिए। उनी ९१ मत अन्तरले पराजित भए।
अध्यक्ष पदका लागि वाणिज्यको एक हजार पाँच सय १५ मत, उद्योगको ७ सय ५३ मत, एसोसियटको एक सय १६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४ सय १५ मत खसेको थियो।
उतिबेला खरो चुनावी प्रतिस्पर्धामा उत्रिएका अग्रवाल र न्यौपानेले आगामी निर्वाचनम अध्यक्षका उम्मेदवारहरूलाई काखी च्यापेका छन्। न्यौपाने जसरी पनि अग्रवाललाई जिताउने अभियानमा छन् भने वहालवाला अध्यक्ष अग्रवाल मौनरुपमा रानाभाटको प्यानललाई समर्थन गर्दै आएका छन्।
व्यवसायीका समस्याको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पु¥याउने लक्ष्यका साथ आफू अध्यक्ष बन्न चाहेको रानाभाटको भनाइ छ।
‘संघको नेतृत्व व्यवसायीले नै गर्नुपर्छ, व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर संघलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील हुनेछु’ रानाभाटले भनेका छन्।
यता, वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका अग्रवालले उद्योग वाणिज्य संघको चुनावमा अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाविक हुने बताए।
‘मकवानपुर उद्योग वाणिज्य संघमा करिब १७ वर्ष अगाडि आमन्त्रित सदस्य भएर म प्रवेश गरेको थिएँ,’ अग्रवालले भने, ‘त्यसपश्चात मैले ३ कार्यकाल सदस्य, ३ कार्यकाल सह–कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गरेँ। वरिष्ठ उपाध्यक्षपश्चात् अब बाँकी रहेको पद भनेको अध्यक्ष पद नै हो। त्यसकारण मेरो उम्मेदवारी स्वभाविक छ।’
संघमा बिगत १७ वर्षदेखिको बिरासतको अग्निपरीक्षामा अग्रवाल उत्रन लागेका हुन्। अग्रवालको प्यानलमा उद्योग तर्फको उपाध्यक्षमा रविन्द्र घिमिरे, एसोसिएट तर्फको उपाध्यक्षमा विष्णु खनाल, कोषाध्यक्षमा तेजप्रसाद अधिकारी र सहकोषाध्यक्षमा राधिका सामरी पाण्डेको नाम टुंगिएको छ।
रानाभाटको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योग तर्फको उपाध्यक्षमा दीपक उप्रेती, एसोसिएट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई र वस्तुगत तर्फको उपाध्यक्षमा प्रदिप अर्याल छन्। यस्तै, महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य र सहकोषाध्यक्षमा निलम वैद्य रहनेगरी प्यानल घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया