नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लेखा परीक्षणको प्रक्रिया दोस्रो पटक खुला गरेको छ।
बैंकले लोन पोर्टफोलियो रिभ्युका लागि विदेशी कन्सल्टेन्सीहरुमा प्रस्ताव आह्वान गरेको हो।
राष्ट्र बैंकले यसअघि लेखापरीक्षणका लागि ५ विदेशी अडिट कम्पनीहरु छनौट गरेकोमा त्यसमा प्राविधिकतर्फ भारतको केपीएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो।
तर उक्त कम्पनीले पनि लागत अनुमान र उपलब्ध बजेटभन्दा बढी लागतसहित प्रस्ताव गरेपछि राष्ट्र बैंकले सम्पूर्ण प्रस्ताव नै रद्द गरेको थियो ।
बैंकले भदौ ८ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा ३६ उपदफा (१) (ख) बमोजिम लागत अनुमान र उपलब्ध बजेटभन्दा छनोट भएको प्रस्तावदाताको लागत सारभूतरूपमा बढी भएको भन्दै बैंकले केपीएमजीको प्रस्ताव पनि रद्द गरेपछि सम्पूर्ण प्रक्रिया नै खारेज भएको थियो।
नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट विस्तारित कर्जा (ईसीएफ)बापत कोषबाट ३९ करोड ८८ लाख डलर ऋण सुविधा लिएको छ।
कोषले उक्त सुविधाका लागि राष्ट्र बैंकले १० वटा ठूला चुक्तापुँजी भएका वाणिज्य बैंकहरुको लेखापरीक्षण गराउनुपर्ने शर्त राखेको छ।
यसअनुसार राष्ट्रबैंकले विदेशी परामर्श कम्पनीहरुबाट लेखा परिक्षण गराउनका लागि दोस्रो पटक आर्थिक प्रस्ताव खोलेको हो।
Shares

प्रतिक्रिया