कारोबार


उद्योग वाणिज्य महासंघले गर्‍यो कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास
उद्योग वाणिज्य महासंघले गर्‍यो कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

नेपालखबर
पुस ४, २०८१ बिहिबार १६:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो।

आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ। यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ। हाल दुई देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ। 

नेपालबाट हाल फेल्ट, गलैँचा, धागोलगायतका परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ। 

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको सामीप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताए। 

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे। उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए।

साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए। 

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे। विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी पनि लगानीकर्तालाई दिए। नेपालको रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो । 

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औँल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, सहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे। 

ढकालले कोरियाली व्यावसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad