हङकङको न्यु टेरिटोरिजस्थित फ्ल्याटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। फानलिङको किङशिङ कोर्टस्थित यानकिङ हाउसको १२औँ तलामा आगलागी भएको हो।
उक्त घटनाबाट ६० वर्षीय पुरुषले ज्यान गुमाएका छन्।
फ्ल्याटमा सोमबार दिउँसो २:४० बजे आगलागी भएको अधिकारीहरूले बताए। आगलागीपछि उक्त भवनका बासिन्दाले आपत्कालीन सेवामा खबर गरेका थिए।
अग्निनियन्त्रकको टोलीले आगोलाई दिउँसो ३ बजे नियन्त्रणमा लिएको थियो। उद्धारकर्ताले वृद्धलाई बेहोस अवस्थामा बाहिर निकालेका थिए। जलेको अवस्थामा उद्धार गरिएका उनलाई शेङशुईस्थित उत्तरी जिल्ला अस्पताल लगिएको थियो। अस्पतालले दिउँसो ४:३३ बजे मृत घोषित गर्यो।
आगलागी भएको भवनबाट करिब १०० जना बासिन्दालाई बाहिर निकालिएको छ। अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनामा कुनै शंकास्पद गतिविधि भेटिएको छैन।
स्थानीय मिडियाहरूले जनाएअनुसार एयर कन्डिसनरका कारण आगलागी भएको आशंका गरिएको छ। यद्यपि, घटनाबारे अग्नि सेवा विभाग र प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया