कारोबार


एक प्रतिशत भन्दा बढी सेयर हुने व्यक्ति बीमा कम्पनीको सीईओ बन्न नपाउने

एक प्रतिशत भन्दा बढी सेयर हुने व्यक्ति बीमा कम्पनीको सीईओ बन्न नपाउने

नेपालखबर
चैत ४, २०७६ मंगलबार ९:६,

बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक सेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन्।

सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाउने व्यवस्था गर्न लागेको हो।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थापक सेयर एक प्रतिशत भन्दा बढी भएको व्यक्तिलाई सीईओ बन्न अयोग्य मान्नुपर्ने बताए।

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री खतिवडाले एक प्रतिशत भन्दा बढी संस्थापक सेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सीईओ बन्न अयोग्य मान्नुपर्ने बताएका हुन्।

उनले भने, ‘बीमा कम्पनीको एक प्रतिशतसम्म सेयर लिएको रहेछ भने त्यो फेरि पनि यहाँ सीईओ हुन पायो। त्यो भन्दा बढी रहेछ भने वित्तीय स्वार्थ देखिन्छ, त्यसपछि उ योग्य हुँदैन। तर अब यो सेयर भनेको संस्थापक शेयरको कुरा भयो। अब उसले बजारबाट शेयर किनेको रहेछ भने होल्ड गरेको रहेछ भने के हुने भन्ने विषय चाहिं एउटा रहन्छ। त्यसो हुनाले उसले आफू नियुक्त हुनको लागि योग्य छु भनेर भनिरहँदा उसले बीमा कम्पनीहरुबाट होल्ड गरेको आफ्नो सेयर स्वामित्व पुरै देखाउनुपर्छ। त्यो विनियमबाट राख्नुपर्छ होला जस्तो मलाई लाग्छ।’

अर्थमन्त्री खतिवडाले कुनैपनि सीईओले दोस्रो बजारबाट खरिद गरेको साधारण सेयर समेत खुलाउनुपर्ने बताए। त्यस्तै बैठकमा बीमा कम्पनीहरुलाई लघुबीमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो।

अर्थमन्त्री खतिवडाले नयाँ व्यवसाय गर्न नसक्ने, नयाँ प्रकारले कृषि गर्न नसक्ने, उद्यम गर्न नसक्नेलाई प्रोत्साहन गर्नका लागि पनि लघु बीमालाई अनिवार्य गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad