कारोबार


विश्व बैंकले स्वीकृत गर्‍यो नेपाललाई दिने १० करोड डलर

विश्व बैंकले स्वीकृत गर्‍यो नेपाललाई दिने १० करोड डलर

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १८:५१, काठमाडौँ

विश्व बैंकले नेपाललाई प्रदान गर्ने १० करोड अमेरिकी डलर स्वीकृत गरेको छ। 

हरित, जलवायु अनुकूलनसहितको समावेशी विकास र आर्थिक वृद्धिका लागि नेपालको नीतिगत पहललाई समर्थन गर्न उक्त रकम स्वीकृत गरेको हो। 

बैंकका बोर्ड निर्देशकहरुले बिहीबार १० करोड डलरको विकास नीति सञ्चालन (डीपीओ) स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। यसले नेपालको हरित, जलवायु अनुकूलन र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरिएको छ। 

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनले सबै नेपालीका लागि दीर्घकालीन उन्नतिको आधारको रक्षा गर्न र अनुकूलन र दिगो विकास निर्माण गर्न डीपीओ शृंखला व्यावहारिक हुने बताए। 

यसले नेपालको विभिन्न क्षेत्रका नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने उनको भनाइ छ। खासगरी हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, जमिनको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन र जलवायु प्रकोप सूचना प्रणालीमा डीपीओले सहयोग पुग्ने उनले बताए। 

वातावरणीय दिगोपना, अनुकूलन र समावेशी विकासका क्षेत्रमा नेपालले सन् २०२१ देखि महत्त्वाकांक्षी कार्यक्रम ल्याएको छ। बेरोजगारी, महामारी र वञ्चितीकरणमा परेकालाई आर्थिक अवसर विस्तारको चुनौतीलाई पन्छाउने विकास मोडलको लागि नेपालले काम गरिरहेको छ।

यसैलाई विश्व बैंकको डीपीओ शृंखलाले सघाई नेपाललाई दिगो विकासको बाटोमा लैजाने विश्वास गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad