कारोबार


फस्टाउँदो ई-कमर्स : ४ महिनामै ५ अर्बको अनलाइन किनमेल

फस्टाउँदो ई-कमर्स : ४ महिनामै ५ अर्बको अनलाइन किनमेल

नेपालखबर
मंसिर २९, २०८१ शनिबार ९:२४, काठमाडौँ

गत वर्षको तुलनामा यो वर्ष ई-कमर्स व्यवसायीका लागि कारोबारको हिसाबले सुखद वर्ष बन्ने देखिएको छ।

उपभोक्ताले ई-कमर्सबाट गर्ने किनमेललाई बढाएकाले व्यावसायिक रुपमा यो वर्ष सुखद हुने भएको हो। 

अनलाइन माध्यममार्फत सामान किनबेच गर्ने ग्राहकले चालू आर्थिक वर्षको ४ महिनामा नै ५ अर्ब बढीको किनबेच गरिसकेका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार ई-कमर्स शीर्षकमा अनलाइनमार्फत हुने भुक्तानी कात्तिक मसान्तसम्म ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। 

गत वर्ष सोही अवधिमा उपभोक्ताले ३ अर्ब ५१ करोड रुपैयाँबराबरको यस्तो भुक्तानी गरेका थिए। यो हिसाबमा गत वर्षभन्दा चालू वर्षको कात्तिक मसान्तसम्म ई-कमर्समा भुक्तानी ५०.१४ प्रतिशतले बढेको हो। 

नेपालमा कोरोना संक्रमणको सुरुवातसँगै उदाएको ई-कमर्स व्यवसायले त्यसपछिका वर्षहरुमा भने क्रमशः फैलिने मौका पाएको थियो। ई-कमर्सले पछिल्लो समय कारोबार बढाउँदै गर्दा बजारमा भौतिक रुपमा उपस्थित भएरै किनमेल गर्नुपर्ने उपभोक्ताको व्यवहारमै परिवर्तन ल्याउन सफल भएको छ।

आर्थिक वर्ष २०७७/०७८ बाट उदाएको ई-कमर्स क्षेत्रमा सोही वर्ष कुल अनलाइन भुक्तानी २९ करोड ६० रुपैयाँ बराबरको भएको थियो। यो भनेको सो वर्ष उपभोक्ताले ई-कमर्समा अनलाइनमार्फत कुल २९ करोडको सामान किनेको हो। 

कोरोना संक्रमणको महामारीका कारण घरभित्रै थुनिएका ग्राहकमाझ ई-कमर्स लोकप्रिय बनेको थियो। योसँगै कारोबार पनि त्यसयता क्रमशः वृद्धि भयो। आर्थिक वर्ष २०७८/७९ सालमा उपभोक्ताले ई-कमर्समार्फत ५० करोडको कारोबार गरे भने आर्थिक वर्ष २०७९/८० मा ५० करोड ५० लाखमाथिको कारोबार गरेका थिए। 

भुक्तानीका हिसाबले ई-कमर्स क्षेत्रका लागि चालू आव थप सुखद देखिन्छ। किनभने यस आर्थिक वर्षको पहिलो महिनामै उपभोक्ताले पछिल्लो तीन वर्षको कारोबारको रेकर्ड तोड्दै सर्वाधिक धेरै कारोबार गरेका छन्। 

चालू आवको साउन महिनामा उपभोक्ताले ई-कमर्सबाट कुल १ अर्ब १२ करोड रुपैयाँको वस्तु तथा सेवा खरिद गरेका छन्। गत वर्षको साउन महिनामै भने ७२ करोडको मात्र कारोबार भएको थियो। त्यसअघिका तीन वर्षमा क्रमशः २९ करोड, ५० करोड र ६० करोडको वार्षिक कारोबार भएको थियो। 

यस वर्ष साउनमा भुक्तानीमा नयाँ रेकर्ड बनेको हो। यही वर्ष भदौ महिनामा फेरि १ अर्ब २३ करोड रुपैयाँको अनलाइन कारोबार भएको छ।

साउन र भदौमा अर्बमाथिको भुक्तानी भएको ई-कमर्समा असोज र कात्तिकमा भने घटेको छ। यी दुई महिनामा भने यस्तो भुक्तानी अर्ब पुग्न सकेन। 

राष्ट्र बैंकका अनुसार असोज महिनामा उपभोक्ताले ८५ करोड र कात्तिक महिनामा ९० करोड रुपैयाँको अनलाइन कारोबार गरेका हुन्। 

पछिल्लो दुई महिनामा ई-कमर्सको कारोबार खस्किए पनि समग्र चार महिनाको तथ्यांकमा भने यस्तो कारोबार ५०.१४ प्रतिशतले बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad