कारोबार


परामर्श सेवाबाटै नेपालीले गर्नथाले अर्बौँ आम्दानी, ४ महिनामा कमाए १७ अर्ब

परामर्श सेवाबाटै नेपालीले गर्नथाले अर्बौँ आम्दानी, ४ महिनामा कमाए १७ अर्ब

सांकेतिक तस्बिर (एआईको सहयोगमा)


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १८:२७, काठमाडौँ

नेपालीले विदेशीलाई परामर्श दिएर नै पैसा भित्र्याउन थालेका छन्।

चालू आर्थिक वर्षको ४ महिनामा परामर्शलगायतका सेवाबाट करिब १७ अर्ब रुपैयाँ आम्दानी भएको हो।

अघिल्ला वर्षको तुलनामा केही घटे पनि नेपालबाट परामर्शबापत जाने रकम समेत पछिल्लो समय घटेको छ।

उक्त अवधिमा व्यावसायिक सेवाबाट ३ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको छ।

तथ्यांकअनुसार व्यावसायिक र व्यवस्थापन परामर्श सेवाबाटै ४ महिनामा १० अर्ब ९८ करोड रुपैयाँ भित्र्याएका नेपालीले परामर्शबापत १ अर्ब १६ करोड रुपैयाँ बाहिर पठाएका छन्।

नेपालले यो अवधिमा ९ अर्ब ८२ करोड रुपैयाँ परामर्शलगायतका सेवाबाट खुद आम्दानी हुने गरेको छ।

व्यापार र प्राविधिक सहायता सेवा उपलब्ध गराएर ५ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेका नेपालीले यही शीर्षकमा २ अर्ब २१ करोड खर्च गरेको देखिएको छ।

नेपाली फिल्म, भिडिओ सेवाबापत १ अर्ब ३ करोड रुपैयाँ आम्दानी हुँदा अध्ययन अनुसन्धानबाट ९ करोड रुपैयाँ भित्रिएको छ।

यद्यपि अघिल्ला २ वर्षमा चालू आर्थिक वर्षको तुलनामा बढी आम्दानी भएको थियो। गत आर्थिक वर्षको ४ महिनामा परामर्शलगायतका व्यावसायिक सेवाबाट २४ अर्ब ३९ करोड रुपैयाँ कुल आम्दानी भएको थियो।

नेपालले ८ अर्ब ७७ करोड रुपैयाँको व्यावसायिक सेवा खरिद गर्दा १५ अर्ब ६१ करोड खुद नाफा गरेको थियो।

आर्थिक वर्ष २०७९/०८० मा २० अर्ब ६५ करोड रुपैयाँ परामर्शलगायत व्यावसायिक सेवाबाट आम्दानी गर्दा ९ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको थियो। 

आर्थिक वर्ष २०७८/०७९ मा ११ अर्ब ५८ करोड रुपैयाँ व्यावसायिक सेवाबाट आम्दानी हुँदा ५ अर्ब खर्च हुने गरेको थियो। 
 
सूचना प्रविधि निर्यात बढ्दै
नेपालबाट सूचना प्रविधिको निर्यात बढ्दै गएको छ। चालू आर्थिक वर्षको ४ महिनामा औपचारिक रुपमै ६ अर्ब ६९ करोड रुपैयाँको सूचना प्रविधिलगायतको वस्तु निर्यात भएको हो। 

टेलिकम सर्भिस १ अर्ब ७२ करोड छ भने कम्प्युटर सर्भिसबाट ४ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ। 

आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा ५ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि ०७९/८० को ४ महिनामा ४ अर्ब ९९ करोड रुपैयाँको सूचना प्रविधि बिक्री गरेको थियो। 

२०७८/०७९ मा नेपालले ४ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

राष्ट्र बैंकको तथ्यांक हेर्दा हरेक वर्ष सूचना प्रविधिबाट हुने आम्दानी बढिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad