कारोबार


सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन रोक

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन रोक

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १८:२९, काठमाडौँ

सगरमाथा राष्ट्रिय निकुञ्जमा व्यावसायिक हेलिकप्टर सञ्चालनमा रोक लगाइएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र अत्यधिक रुपमा व्यावसायिक हेलिकप्टरको उडान अवतरणमा रोक लगाउने निर्णय भएको हो।

निकुञ्ज कार्यालयले अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो। 

‘हेलिकप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेको बस्तीहरुमा अत्यधिक ध्वनि प्रदूषण समेत भएको छ,’ कार्यालयको निर्णयमा भनिएको छ, ‘अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि समेत हुनसक्ने सम्भावना छ।’

हेलिकप्टर उडानबाट खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको कार्यालयले जनाएको छ। 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघ/संस्थाहरुको मंगलबार बसेको बैठकले हेलिकप्टर उडानमा रोक लगाएको छ।

‘२५ गतेको बैठकले सगरमाथा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुने हेलिकप्टर उडान तथा अवतरण कार्यलाई व्यवस्थित गर्न पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि प्रयोग गरिने हेलिकप्टरहरुबाहेक अन्य व्यावसायिक रुपमा सञ्चालन हुने हेलिकप्टरहरु पुस १७ गतेबाट पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ’, हेलिकप्टर कम्पनीहरुलाई काटिएको पत्रमा भनिएको छ।

निकुञ्जको अनुमति लिनुपर्ने
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उडान तथा अवतरण गर्ने कम्पनीका हेलिकप्टरहरुले निकुञ्जको अनुमति लिनुपर्ने व्यवस्था छ। 

‘निकुञ्ज कार्यालयबाट अनुमति नलिई मनपरी ढंगबाट उडान तथा अवतरण गर्दा राजस्व चुहावट समेत हुने गरेको छ’, निर्णयमा भनिएको छ।

निकुञ्ज भम्रण गर्न आउने पर्यटकहरुको स्वास्थ्य समस्यालाई  मध्यनजर गर्दै उपचार सुविधा युक्त उद्दार उडान हुनुपर्नेछ। 

पर्यटकको उद्धार गर्नुपर्ने अवस्था आएमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति तथा वडा कार्यालयको लिखित वा मौखिक सिफारिसपश्चात मात्रै निकुञ्जले उडान अनुमति दिने भएको छ। 

उद्धार फ्लाइट गर्नुपर्ने अवस्था आएको खण्डमा निकुञ्जबाट पूर्वसहमति लिई हेलिप्टर अवतरण गर्ने स्थान तय गर्नुपर्ने, उद्धार हुने व्यक्तिको विवरण अनिवार्य रुपमा निकुञ्ज कार्यालयमा पेस गर्नुपर्ने, हेलिकप्टरमा उद्धार गरिनुपर्ने पर्यटकबाहेक अन्य पर्यटकहरु ओसारपसार गर्न नपाइने र उद्धार भएका पर्यटकको स्वास्थ्य चेकजाँच गर्नका लागि अनिवार्य रुपमा लुक्लास्थित पासाङ ल्हामु निकोल निक्की अस्पताल पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ। 

स्थानीय अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गको लागि सम्बन्धित वडा कार्यालय वा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सिफारिसको आधारमा निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्नेछ। 

सगरमाथा आरोहणका लागि कार्गो ढुवानी पाङबोचेभन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न निषेध गर्ने निर्णय भएको छ। यी सबै निर्णय २०२५ जनवरी १ बाट लागू हुने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad