नेपालको विद्युत् चीन निर्यात गर्न १०० किमि प्रसारणलाइन बनाउनुपर्ने देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको एजेन्डामा २२० केभी प्रसारणलाइन निर्माणलाई पनि राखिएको छ।
२०८० असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा २२० केभीको प्रसारणलाइन बनाउने समझदारी भएको थियो।
प्रसारणलाइन बनाउने समझदारी भए पनि निर्माण र लगानीको विषय टुंगो लागेको छैन।
नेपाल सरकारले प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययन गरिसकेको छ। चीन सरकारले अनुदान दिए तत्काल निर्माण अघि बढ्ने सम्भावना रहेको विद्युत् प्राधिकरणले जनाएको छ।
‘चिलिमे हबबाट चीन जोड्नको लागि करिब १०० किमि प्रसारणलाइन बनाउने समझदारी भइसकेको छ’, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘चिलिमेमा हाम्रो २२० केभीको सबस्टेसन छ। त्यहाँबाट चीनको सबस्टेसनसम्म प्रसारणलाइन बनाउनुपर्छ। बीचमा थप स्टेसन आवश्यक हुँदैन।’
विद्युत् प्राधिकरणले बनाएका प्रसारणलाइन प्रतिकिलोमिटर ८०० देखि ९०० करोडमा तयार भइरहेका छन्। नेपाल र चीनतर्फको प्रसारणलाइन निर्माणमा करिब २० अर्ब खर्च लाग्ने अनुमान छ। नेपालतर्फको मात्रै निर्माण गर्न डेढदेखि २ अर्ब खर्च हुने प्राधिकरणको आकलन छ।
‘चीनले नेपाललाई अनुदान दिन्छु भनेको छ। प्रधानमन्त्रीको एजेन्डाको रुपमा रहेको भन्ने छ’, घिसिङले भने, ‘चीनले अहिले नै अनुदानको लागि सम्झौता गर्छ वा गर्दैन टुंगो लागेको छैन।’
विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयको जिम्मेवारीमा रहेका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले चीनको सीमानाकासम्म १८ किलोमिटर प्रसारणलाइनको संरचना बनाउनुपर्ने बताए।
‘चिलिमेबाट बोर्डरसम्म १८ किमि प्रसारणलाइन निर्माण गर्नुपर्छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘तिब्बतको जिरोङ भन्ने ठाउँसम्म प्रसारणलाइन निर्माण गर्नुपर्छ। हाम्रो सीमाबाट जिरोङ सबस्टेसनसम्म ८० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ।’
९८ किलोमिटर बढी दूरीको प्रसारणलाइन निर्माण गर्नुपर्ने अनुमान छ।
‘करिब १०० किमि प्रसारणलाइन निर्माण गरेपछि मात्रै नेपाल र चीनबीच विद्युतमा दुईपक्षीय व्यापार गर्न सकिन्छ’, श्रेष्ठले भने, ‘चिलिमे हब र त्रिशूली हब गरी उक्त क्षेत्रमा विद्युत् प्राधिकरणले पीपीए गरेका करिब एक हजार मेगावाटका आयोजना छन्।’
अहिले साढे २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। रसुवागढी, चिलिमेलगायतका आयोजना छन्। गत कात्तिकमा मात्रै चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन समेत सञ्चालनमा आएको छ। रसुवाको थम्बुचेबाट नुवाकोटको पहिरेबेंसीमा २८ किमि लामो प्रसारणलाइन जडान भएको छ।
हाल १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजना चिलिमेबाट त्रिशूलीमा जडान गरेको छ।
४०० केभीको प्रसारणलाइन २२० मा झारियो
२०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच ४०० केभीको प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो। विद्युत् प्राधिकरणले रातामाटेदेखि केरुङ जोड्ने ४०० केभी प्रसारणलाइन निर्माणको अध्ययन ग¥यो। लाङटाङ राष्ट्रिय निकुञ्ज छलेर ७० किलोमिटरको प्रसारणलाइन बनाउन सकिने अध्ययनबाट देखाएको थियो।
२०८० मा प्रधानमन्त्री पुष्पकमल दाहालले ४०० केभी प्रसारणलाइनको सट्टा चिलिमेबाट २२० केभीको प्रसारणलाइन बनाउने समझदारी गरे। अहिले त्यही आयोजनालाई नै अगाडि बढाइएको छ।
‘नेपालले ४०० केभीको प्रसारणलाइन बनाउन अध्ययन गरे पनि चीनतर्फ ४०० केभीको प्रसारणलाइन सबस्टेसन धेरै टाढा रहेको देखायो’, विद्युत् प्राधिकरणका एक अधिकारीले भने, ‘नेपालको आवश्यकता भएकाले तत्काललाई २२० केभीको प्रसारणलाइन चिलिमे हबबाट जोड्दा उपयुक्त हुने देखियो।’
विद्युत् प्राधिकरणले नेपाल–चीनबीच बढी विद्युत् आदानप्रदान भए ४०० केभीको प्रसारणलाइन निर्माण गर्न सकिने जनाएको छ।
नेपालले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरिसकेको छ। वर्षातमा भारतमा नेपालले विद्युत् निर्यात गरिरहेको छ।
यो वर्ष सरकारले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात समेत सुरु गरेको छ। चीनसँग विद्युत् प्रसारणलाइन जडान भए निर्यात गर्न सकिने प्राधिकरणका अधिकारी बताउँछन्।
Shares

प्रतिक्रिया