ad ad

कारोबार


हिमपातका कारण हुम्लामा हवाई उडान अवरुद्ध

हिमपातका कारण हुम्लामा हवाई उडान अवरुद्ध

दाने बोहरा
फागुन ३०, २०७६ शुक्रबार १३:२२,

हुम्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा दिनभर हिमपात भएको छ। जिल्लाको तल्लो क्षेत्रका अन्य चार गाउँपालिकाका विभिन्न क्षेत्रमा बर्सात भएको छ।

साबिक डाडाफया, स्याडालगायत नाम्खा गाउँपालिकामा भारी हिमपातले जनजीवन कष्टकर बनाएको नाम्खा गाउँपालिका याल्वाङ्ग महाबौद्ध विद्यालयमा कार्यरत नन्दबहादुर भण्डारीले बताए। उत्तरी क्षेत्रमा हिमपातले आवतजावतमा कठिनाइ भएको छ।

यस्तै जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा निरन्तर हिमपातले यो क्षेत्र सेताम्ये भएको छ। शुक्रबार बिहान ७ बजेबाट लगातार परेको हिमपातले हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई उडान अवरुद्ध बनेको छ। हिमपातका कारण उडान अवरुद्ध बनेको सिमकोट विमानस्थल स्रोतले बताएको छ।

तीन दिनअगाडि देखि हुम्लामा मौसम परिर्वतन भएसँगै यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ। फागुन अन्तिममा परेको हिमपात र वर्षाले जेठासी बाली सप्रने यहाँका स्थानीयवासीले बताएका छन्। माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी परेका कारण जेठासी बालीका लागि पानीको आवश्यक नपर्ने सिमकोट गाउँपालिका वडा २ का किसान हुनी भण्डारीको भनाइ छ।

एसइई परीक्षा केन्द्रमा सहायता कक्ष राखिने
आगामी चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा एसइई परीक्षा केन्द्रमा सहायता कक्ष स्थापना गरिने भएको छ। हुम्लामा रहेका छ वटा परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गर्न लागिएको हो।

कोभिड–१९ का लक्षण विद्यार्थीमा देखिन सक्ने सम्भावनालाई ध्यानमा राखी त्यसबाट जोगिन परीक्षण गर्नको हेल्थ डेस्क स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विष्णुबहादुर शाहीले बताए। प्रमुख शाहीले जिल्लाका ६ वटै परीक्षा केन्द्रमा सो डेस्क स्थापना गरेर स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्था गर्ने निर्णय भएको बताए।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष छनोट गरिएको छ। मानसरोवर माविमा केन्द्राध्यक्ष अमरबहादुर शाही, बालमन्दिर माध्यमिक विद्यालयका लागि ज्ञानबहादुर रोकाया, हिमज्योति माविका लागि जयबहादुर धामी, कोट माविका लागि टंकज्वज खत्री, सूर्योदय माविमा सुरवीर शाही र मदनादेव माविका लागि जयरुद्र ढकाललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको प्रमुख शाहीले बताए। छनोट भएका केन्द्राध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरिने छ।

हुम्लाबाट एक हजार ३७ छात्रछात्राले परीक्षा दिनेछन्। मानसरोवर माध्यमिक परीक्षा केन्द्रबाट दुई सय १२, बालमन्दिर माविबाट एक सय ५५, कोट मावि रोडिकोट एक सय १९, हिमज्योति मावि सर्केगाडबाट दुई सय १०, सूर्योदय मावि श्रीनगरबाट एक सय ४५ र मदनादेव मावि मदनाबाट एक सय ९६ छात्रछात्रा सहभागी हुनेछन्। छात्रछात्रा गरी खुल्लाबाट २७ जनाले एसइई परीक्षा दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .