ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन्।
बुधवार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले यस्तो बताएका हुन्। उनले भारत सरकारसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने विषयमा सहमति भएको बताए।
उनले नेपाल र भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको उल्लेख गरे।
उनले भारतले पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा आवश्यकताअनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए। भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उनको भनाई थियो।
मन्त्री खड्काले तीन दिने भारत भ्रम्रण उपलब्धीमुलुक भएको जानकारी दिए। उनले नेपाल सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल समेत भएको बताए।
उनले भने,‘भारत भ्रमणमा भारत सरकारसँग दुई पक्षिय हितका विषयमा छलफल भयो। नेपालका अड्किएका अधुरा आयोजनाहरुलाई अगाडि बढाउने विषयमा कुरा भयो। पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा भारतले गर्दै आएको सहयोगलाई आवश्यकता अनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। भारतले नेपालको विषयमा असाध्यै चासो र चिन्ता लिएको पाइयो।’
उनले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए। उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको बताए।
Shares

प्रतिक्रिया