तिहारपछिको पहिलो कारोबार दिनमा सेयरबजार परिसूचक नेप्से न्यून अंकको घटाइसँगै बन्द भएको छ।
मंगलबार नेप्से ०.२१ अंकले घटेर २६७७.४० अंकमा बन्द भएको हो।
बजारले कारोबार सुरु भएसँगै वृद्धिको बाटो लिएको थियो। चाडबाड सकिएसँगै बजारमा लगानीकर्ताको उपस्थिति बलियो हुने आकलन भए पनि यो दिन बजार स्थिर नै बन्न पुग्यो।
सुरुको ४७ मिनेटमा नेप्से १८ अंकले बढे पनि त्यसपछि बजारले उकालो यात्रा गर्न सकेन। बजार दिनभरजसो उतारचढावपूर्ण बने पनि अन्तमा भने ०.२१ अंकले मात्रै घटेर बन्द भएको हो।
अन्तिम एक मिनेटमा बजार सम्हालिएपछि आज लगानीकर्ताले धेरै गुमाउनुपरेन। अन्तिम एक मिनेटमै लगानीकर्ताले ३० करोड रुपैयाँको कारोबार गरेर बजारलाई बढाउन पुगेका हुन्।
सम्हालिएको बजारमा आज ११३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२४ वटा कम्पनीको मूल्य भने घटेको छ। बढ्नेमा सुपरमाई हाइड्रो सबैभन्दा अगाडि देखिएको हो।
यो कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रो र गुराँस लघुवित्तको सेयरमूल्य सर्किट लेबलमै बढेको हो।
समग्रमा आज कारोबारमा आएकामध्ये फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूहका कम्पनीको सेयरमूल्य बढेको छ।
घट्नेमा भने समग्रमा आज बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहका कम्पनीहरु बढी छन्। तर कम्पनीगत रुपमा भने आज मिड सोलु हाइड्रो अगाडि देखिएको छ।
यो कम्पनीको १० प्रतिशत मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ भने माथिल्लो स्यांगे हाइड्रो, सामलिङ पावर र एक्सेल डेभलपमेन्ट बैंक अगाडि देखिएका छन्।
तिहारअगाडिको अन्तिम कारोबार दिनमा करिब ६ अर्ब रकम बराबरको सेयर कारोबार गरेका लगानीकर्ताले तिहारपछि खुलेको पहिलो दिनको कारोबार भने कम गरेका छन्। यो दिन ४ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार हुँदा लगानीकर्ताको भीड नेपाल फाइनान्समा देखियो।
नेपाल फाइनान्समा आज लगानीकर्ताले २९ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्।
Shares

प्रतिक्रिया