पछिल्ला वर्षमा स्टिल उद्योगको आम्दानी लगातार घट्दो रहेको छ। नेपालमा स्टिल उद्योग बढ्ने तर पूर्वाधार निर्माण नबढ्दा अधिकांश कम्पनीको आम्दानी अर्बमा घटेको छ।
नेपालका रेटिङ एजेन्सिज् केयर रेटिङ, आइक्रा र इन्फोमेरिसको तथ्यांकले पूर्वाधार निर्माण क्षेत्र सुस्त रहेको उल्लेख गरेका छन्। डन्डीमा प्रयोग हुने कच्चा पदार्थ डलरमा आयात गर्नुपर्ने हुन्छ।
पछिल्ला वर्ष डलरको मूल्य बढेकाले आयातित समानको पनि मूल्य बढेको छ। चालु आर्थिक वर्षमा बैंकको ब्याजदर घटेपनि अघिल्ला २ वर्ष उच्च पुगेको थियो। यसले बजारमा माग बढ्न नसकेको तथा कम्पनीको नाफा घटेको रेटिङ एजेन्सिज्को विष्लेषण छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष नेपालको निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको उल्लेख गरेको थियो। त्यसको असर सिमेन्ट र डन्डी उद्योगमा देखिन्छ।
एकै वर्ष उद्योगको आम्दानी २ अर्ब बढीले घटेको छ। विभिन्न ९ उद्योगको तथ्यांक हेर्दा अधिकांश कम्पनीले उत्पादन क्षमताको आधा मात्रै उत्पादन गरिरहेका छन्।
नेपालका अधिकांश व्यवसायिक घरानाले सिमेन्ट र डन्डी उद्योगमा लगानी गरिरहेका छन्।
प्रिमियर स्टिल
आर्थिक वर्ष २०८०/०८१ मा ४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी रहेको छ। कम्पनीको कर, ब्याज सहितको नाफा ६.१७ प्रतिशत छ। आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ७ करोड आम्दानी हुँदा ७.११ प्रतिशत नाफा थियो। ०७९/८० को तुलनामा १२ प्रतिशतले सञ्चालन आम्दानी बढेको देखिन्छ।
आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब ८४ करोड र आब २०७७/०७८ मा ६ अर्ब १६ करोड रुपैयाँ सञ्चालन आम्दानी थियो।
प्रिमियर स्टिल सारडा ग्रुप र राठी ग्रुपको लगानीमा सञ्चालनमा रहेको छ। कम्पनीले वार्षिक १ लाख ८० हजार मेट्रिकटन प्रतिवर्ष टिएमटी छड उत्पादन गर्छ भने १ लाख २० हजार मेट्रिकटन बिलेट उत्पादन क्षमता छ। २०१६ मा स्थापना भएको उद्योग सुनसरी दुहबीमा रहेको छ।
पञ्चकन्या स्टिल
पछिल्ला २ वर्षमा पञ्चकन्या स्टिलको आम्दानीमा भारी गिरावट आएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको कम्पनी २०७९/८० मा ७ अर्ब ८६ करोड रुपैयाँमा सिमित रहयो। आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको मात्रै स्टिलबाट उत्पादिन वस्तु बिक्री गर्न सक्यो। आम्दानी घटेको वर्ष ०७९/८० को तुलनामै ३२ प्रतिशतले कमी हो।
पञ्चकन्या ग्रुप अन्तर्गतको कम्पनीले आम्दानी घट्नुमा बजार माग नै कम रहेको उल्लेख गरेको छ। १९९५ मा स्थापना भएको पञ्चकन्या स्टिलले १ लाख ५० हजार मेट्रिकटन वार्षिक उत्पादन गर्न सक्छ। प्रदिप कुमार श्रेष्ठले प्रबन्ध निर्देशकको रुपमा व्यवसाय हेर्दै आएका छन्।
भगवती स्टिल
भगवती स्टिलको आम्दानी गत वर्षको तुलनामा केही गिरावट आएको छ। आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन आम्दानी रहेकोमा ८०/०८१ मा ३ अर्ब १३ करोड रुपैयाँमा सिमित भएको छ। कम्पनीको सञ्चालन आम्दानीसँगै नाफामा समेत गिरावट आएको छ। ०७९/८० मा कर ब्याज सहितको नाफा १३.९४ प्रतिशत रहेकोमा अहिले ४.८२ प्रतिशत मात्रै छ।
त्यसअघि आर्थिक २०७८/०७९ मा १ अर्ब ८३ करोड रुपैयाँ मात्रै रहेको थियो। उक्त वर्ष पिबिआईएलटी आम्दानी ८.६८ प्रतिशत थियो। १९९१ मा स्थापना भएको कम्पनीले पाइप, स्टिस्, सटर लगायतका वस्तु उत्पादन गर्छ। बारामा रहेको उद्योगमा वार्षिक ८५ हजार ५०० मेट्रिकटन क्षमता छ। कम्पनीको अध्यक्ष सुमित कुमार अग्रवाल रहेका छन्।
श्री स्टिल
२०१६ मा स्थापना भएको श्री स्टिलको गत वर्ष आम्दानी घटेको छ। आर्थिक वर्ष ०७९/८० मा ७ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनी २०८०/०८१ मा ५ अर्ब सञ्चालन आम्दानी गरेको हो। आब ०७८/०७९ मा कम्पनीको आम्दानी ६ अर्ब १३ करोड रुपैयाँ थियो। कम्पनीले सञ्चालन खर्च घटाएर नाफा बढाएपनि कुल आम्दानी नै एकै वर्ष २ अर्ब घटेको देखिन्छ।
रुपन्देहीमा रहेको उद्योगमा ३ व्यवसायिक घरनाको लगानी छ। सिद्धार्थ ग्रुपको ४३ प्रतिशत, केडिया ग्रुपको २२ प्रतिशत र मुरारका ग्रुपको २१ प्रतिशत छ। कम्पनीमा जगदम्बा इन्भेष्टमेन्ट एन्ड ट्रेडिङ कम्पनीको १४ प्रतिशत वैदेशिक लगानी रहेको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन छ।
रियल स्टिल
२०१८ मा स्थापना भएको रियल स्टिल उद्योगको आम्दानी १ करोडले बढेको छ। आर्थिक वर्ष ०७९/८० मा १ अर्ब २३ करोड रुपैयाँ सञ्चालन आम्दानी रहेकोमा आब ०८०/०८१ मा १ अर्ब २४ करोड रुपैयाँ छ। गत वर्ष ७ प्रतिशत पीबीआईएलटीडी (कर, ब्याज, भाडा, ह्रासकट्टी सहित) नाफा हुँदा ०७९/८० मा पुरै घाटामा रहेको थियो।
२०२० मा व्यवसायिक उत्पादन थालेको कम्पनी एमएस पाइप, सटरपट्टी, सिट् वार्षिक ४९ हजार ८०० मेट्रिक टन उत्पादन गर्न सक्छ। वीरगञ्जका व्यवसायी प्रेमकुमार जटियाको लगानीमा सञ्चालनमा छ।
अम्बे स्टिल
पछिल्ला २ आर्थिक वर्षमा अम्बे स्टिलको आम्दानीमा केही गिरावट आएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ८७ करोडको डन्डी बिक्री गरेको कम्पनीले ०७९/८० मा ८ अर्ब ३४ करोडको बिक्री गरेको छ। आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको तथ्यांक हेर्दा ५ अर्ब ३ करोडमा सिमिति छ।
गत वर्षपनि आम्दानीमा गिरावट आएको देखिन्छ। कम्पनीको बिक्री आम्दानी घटेपनि कर, ब्याज सहितको नाफा भने बढेको छ। अघिल्ला वर्ष ६.४३ प्रतिशत नाफा रहेकोमा गत वर्ष ७.५९ प्रतिशत छ।
अम्बे स्टिलले गत वैशाखमा वार्षिक ८० हजार मेट्रिक टन बिलेट उत्पादन क्षमतालाई बढाएर १ लाख २० हजार पुर्याएको छ। टीएमटी बार १ लाख ४४ हजार छ। भैरहवामा रहेको उद्योगका अध्यक्ष शोभाकर न्यौपाने रहेका छन्।
सर्वोत्तम
पब्लिक कम्पनीको रुपमा रहेको सर्वोत्तम स्टिलको आम्दानी पनि घटेकै देखिन्छ। आर्थिक वर्ष २०७८/०७९ मा ८ अर्ब ९३ करोड रुपैयाँ सञ्चालन आम्दानी रहेको कम्पनीले ०७९/८० मा ७ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गर्यो। २०८०/८१ को ९ महिनामा ५ अर्ब रहयो।
सौरभ ग्रुम अन्तगर्तको कम्पनी २०१७ मा स्थापना भएको थियो। कम्पनीको डन्डी, बिलेट, तार गरी वार्षिक ५ लाख २० हजार ८०० मेट्रिकटन क्षमता रहेको छ। विष्णु प्रसाद न्यौपाने अध्यक्ष रहेका छन् भने रमेश कुमार अग्रवाल र उत्सव न्यौपाने निर्देशक छन्।
लक्ष्मी स्टिल
धेरै कम्पनीको आम्दानी घट्दा लक्ष्मी स्टिलको आम्दानी आर्थिक वर्ष २०७९/८० मा बढ्यो। ०७८/०७९ मा ८ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले ०७९/८० मा ९ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गर्यो। तर आर्थिक वर्ष ०८०/०८१ मा भने केही घटेको देखिन्छ।
९ महिनाको तथ्यांक सार्वजनिक हुँदा कम्पनीले ६ अर्ब १७ करोड रुपैयाँ गरेको छ। लक्ष्मी स्टिल पनि सौरभ ग्रुप अन्तगर्तकै कम्पनी हो। २००८ मा स्थापना भएको कम्पनीले ३ लाख ५० हजार मेट्रिकटन डन्डी, बिलेट, वायर उत्पादन गर्न सक्छ। टिकाराम न्यौपाने यसको अध्यक्ष छन्।
अशोक स्टिल
आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ। आर्थिक वर्ष ०७९/८० मा ६ महिनामा करिब ३ अर्बको कारोबार हुँदा वर्षभरीमा ६ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन आम्दानी थियो। टीएमटी छडको माग नहुँदा उद्योगको आम्दानीमा गिरावट आएको उल्लेख छ।
वार्षिक १ लाख मेट्रिक टन उत्पादन क्षमता रहेको असोक स्टिलको बारामा उद्योग छ। पुनम चन्द अग्रवाल यसको अध्यक्ष रहेका छन्।
Shares

प्रतिक्रिया