एमआईटी होल्डिङ्सले काठमाडौँमा बनाइरहेको होटलमा विश्वकै सबैभन्दा लक्जरी ब्रान्ड भित्र्याउने तयारी गरेको छ। नारायणहिटी छेवैमा बनिरहेको होटलबाट शेराटन बाहिरिएसँगै अझै लक्जरी ब्रान्ड भित्र्याउने तयारी गरेको हो।
नेपालीमूलका अस्ट्रेलियन अर्बपति शेष घलेको लगानीमा होटल निर्माण भइरहेको छ। घोषणाको १० वर्षसम्म अझै सम्पन्न नभएको होटलको लागत नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी भएको होल्डिङले दाबी गरेको छ।
सुरुमा करिब ८ अर्बमा निर्माणसम्पन्न गर्ने लक्ष्य राखिए पनि लागत १२ अर्ब पुग्ने अनुमान गरिएको छ। एमआईटी ग्रुपले निर्माणमा ढिलाइसँगै अमेरिकी डलरको मूल्य बढ्दा लागत बढेको बताउने गरेको छ। अहिलेसम्म १० अर्ब बढी नै खर्च भएको एमआईटीको भनाइ छ।
उद्योग विभागमा दर्ता भएको एमआईटी ग्रुप होल्डिङ्स नेपालमा शेष घले र जमुना गुरुङको नाममा ५०–५० प्रतिशत सेयर छ। उनीहरु श्रीमानश्रीमती हुन्। एमआईटी होल्डिङ्सले नेपालमा स्टारवुड होटल एन्ड रिसोर्ट वर्ल्डवाइड इंकको सेराटन ब्रान्ड ल्याएको थियो।

मेरियट, अलफ्ट ब्रान्ड समेत स्टारवुड कम्पनीकै हुन्। शेराटन ब्रान्ड बाहिरिए पनि त्योभन्दा अझै लक्जरी ब्रान्ड भित्र्याउने कम्पनीको भनाइ छ।
‘नेपालमा अहिले भएभन्दा लक्जरी ब्रान्ड ल्याएरै सञ्चालन गर्ने योजनामा छौँ’, एमआईटी होल्डिङ नेपालका महाप्रबन्धक सुरेश चित्रकारले भने, ‘हामीले अब चाँडै होटल सञ्चालनमा ल्याउने तयारीमा छौँ।’
शेष घलेले सन् २०१४ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दा २०१८ बाट होटल सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए। होटल शेराटनले २०१४ मै निर्माण सुरु गरिए पनि भूकम्प, नाकाबन्दीसँगै कोरोनाको कारणले समेत पूर्वनिर्धारित लक्ष्यमा ढिलाइ भएको जनाएको छ।
शेराटन बाहिरिएपछि शेष घलेले होटलसहित अपार्टमेन्ट बनाउन लागेको गैरआवासीय नेपालीबीच चर्चा चलेपनि एमआईटी होल्डिङले भने लक्जरी ब्रान्डमै सञ्चालन गर्ने दाबी गरेको छ।
‘हामी पूर्णरुपमै लक्जरी ब्रान्ड भित्र्याएरै चलाउँछौँ’, महाप्रबन्धक चित्रकारले भने, ‘होटलसँगै अपार्टमेन्ट बनाउने भन्ने हाम्रो योजनामा छैन।’
उनले नयाँ लक्जरी ब्रान्डसँगको सम्झौता छिट्टै सार्वजनिक गर्ने बताए।
१३ रोपनी जग्गामा ठडियो १७ तल्ले भवन
होटल काठमाडौं कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ। कम्पनीका अनुसार १७ तलाको होटलमा तीन तला बेसमेन्ट, लबीसहित १३ वटा तलामा पाहुना कोठा छन्।
होटेलमा चारवटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर र सबैभन्दा ठूलो हल रहनेछ।
नारायणहिटी दरबार संग्रहालयको छेउमा रहेको होटलनजिकै उपत्यकाको पर्यटकीय केन्द्र ठमेल बजार छ। होटलको माथिल्लो भागबाट नारायणहिटीसहित काठमाडौं उपत्यकाको दृश्य देख्न सकिन्छ।
२ सय २२ वटा कोठा रहने होटल नेपालमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भएको होटल हो।
एमआईटी होल्डिङका प्रमुख गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले हुन्। नेपाली मूलका अस्ट्रेलियन अर्बपति घले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष हुन्।
अस्ट्रेलियामा उनको व्यवसाय सफल भए पनि नेपालमा गरेकै ठूलो लगानीबाट अहिलेसम्म आम्दानी हुनसकेको छैन।
Shares

प्रतिक्रिया