सरकारले वैदेशिक रोजगार बचतपत्रमा अपेक्षित लगानी भित्रिन नसकेपछि यो सेयरबजारमा समेत कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ।
सञ्चालनमा आएको १३ वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार लगानी भित्रिन नसकेपछि सरकारले कार्यविधि नै बनाएर सेयरबजारमा समेत यसको कारोबार गर्न सक्ने नीति लिएको हो।
बैंक तथा वित्तीय संस्थाबाट पाउने निक्षेपको ब्याजभन्दा २.४२ प्रतिशत बढी ब्याज दिए पनि बचतपत्रमा लगानीकर्ताको आकर्षण नदेखिएपछि सरकारले थप सुविधासहित बचतपत्रमा लगानी गर्ने व्यवस्था गरेको हो।
अब श्रमका लागि विदेशिएका नागरिकले सेयरबजारमा पनि वैदेशिक रोजगार बचपतत्र लगानी गर्ने मात्रै नभएर सेयरबजारमा अन्य सेयर कारोबार गरेजसरी नै कारोबार गर्न सक्ने व्यवस्था गरेको हो।
सार्वजकि ऋण व्यवस्थापक कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको हो।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीजस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ’डोम्स’ र ’इन्भेस्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको छ। जसबाट अब लगानीकर्ताले सोझै बचतपत्रमा लगानी गर्न सक्नेछन्।
लगानीका लागि बन्न सक्छ आकर्षक माध्यम
समान्यतया बैंकहरूबाट पाउने ब्याजभन्दा वैदेशिक रोजगार बचतपत्रबाट पाउने ब्याजदर उच्च हुन्छ। वैदेशिक रोजगारीमा गएकाहरूबाट विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यसहित स्थापना भएको बचतपत्रमा लगानीकर्तालाई आकर्षण गर्न उच्च ब्याज दिइने व्यवस्था छ।
सामान्य निक्षेपको ब्याजदरभन्दा २.४२ प्रतिशत बढी ब्याज पाइने हुँदा वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि वैदेशिक रोजगार बचतपत्र लगानीको प्रमुख माध्यम बन्ने सक्ने देखिन्छ।
सञ्चालनमा आएको १३ वर्षमा कूल ४.९ प्रतिशत मात्रै बचपत्र बिक्री भएपछि यो लगभग असलफल अवस्थामा पुगेको थियो। मृतप्राय: बनिसकेका बचतपत्रमा लगानीकर्तालाई आर्कषण गर्न सरकारले सुविधै सुविधाकाबीच दोस्रो बजारमा समेत कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।
बचतपत्रलाई पनि सेयरबजारको दोस्रो बजारमा लैजाने भएपछि विदेशिएका नेपाली श्रमिकमा लगानीको प्रमुख क्षेत्र हुने सम्भावना बढेको छ।
सार्वजकि ऋण व्यवस्थापक कार्यालयले ब्याज मात्रैले बचतपत्रमा लगानीकर्ताको आर्कषण बढाउन नसकेपछि नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई पनि दोस्रो बजारमा सेयरजसरी नै किनेबेच गर्न सकिने व्यवस्था गरेको हो।
यो व्यवस्थाले उच्च ब्याज र दोस्रो बजारमा हुने कारोबारका आधारमा पनि लगानीकर्ताले प्रशस्तै प्रतिफल पाउन सक्ने छन्।
आन्तरिक ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा स्वीकृत वार्षिक कार्यतालिका तथा निष्कासन तालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिने व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया