कारोबार


अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ११:५,

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन्। यद्यपि, यात्रु संख्या घटे पनि जहाजको उडान संख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तर्राष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान संख्यामा भने कमी नआएको बताए। अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन्। कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ। तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ।

अन्तर्राष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आँकलन गरिएको छ। विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो। अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताए।

‘कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो (प्राधिकरण)को मुख्य आम्दानी नै अन्तर्राष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ’, उनले भने।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ। ठूलो संख्यामा उडान भइरहे पनि यात्रुको संख्या ह्वात्तै घटेको छ। यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ। पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ हजार मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

कुन एयरलाइन्सको कति कटौती
कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ। नेपाल र चीन दुवैतर्फको उडानमा भारी कटौती भएको हो। प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाइमा चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ। नेपालबाट चीनमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएकामा अहिले सबै बन्द गरेको छ। चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेका छन्।

प्राधिकरणका अनुसार एयर चाइनाले सातामा १४ उडान गर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ। चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ। चाइना स्ट्रनको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ। त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ।

चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन तर नेपालका तर्फबाट नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले दोहामा आजदेखि तत्कालका लागि उडान स्थगन गरेका छन्। कतारबाट नेपालको उडान भने नियमित भइरहेको छ। कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ। भारतको नयाँदिल्लीलगायत गन्तव्यको उडान पनि नियमित भइरहेको छ।

मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन्। हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब ह्रास आउने वायु सेवा सञ्चालक संघले यही २३ गते विज्ञप्ति निकालेर जनाएको थियो।

विश्वव्यापी रुपमा कोरोनाको सङ्क्रमण फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालको नागरिक उड्डयन क्षेत्रमा परेको छ। विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरिसकेका छन्। मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको तथा ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको व्यवसायीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad