कारोबार


उद्योगी व्यवसायीको दसैँ : कोही विदेश, कोही गाउँघर

उद्योगी व्यवसायीको दसैँ : कोही विदेश, कोही गाउँघर

नेपालखबर
असोज २५, २०८१ शुक्रबार १५:५३, काठमाडौँ

देशका उद्योगी व्यवसायीले यस वर्ष २०८१ सालको दसैँ स्वदेश तथा विदेशमा आ–आफ्नै तरिकाले मनाउने बताएका छन्।

दसैँमा धेरै बिदा हुने भएकाले परिवारसहित व्यवसायीहरूले विदेशमा दसैँ मनाउन जाने बताएका छन्। भने कतिपय व्यवसायीहरू दसैँ मनाउनकै लागि विदेश पुगिसकेका छन्। तर केही उद्योगी व्यवसायीहरू भने स्वदेशमा नै दसैँलाई परिवारसँग बसेर मनाउने बताएका छन्।

कतिपयले व्यवसायीहरू दसैँमा आन्तरिक भ्रमणमा जाने तयारीमा छन् भने केही व्यवसायीहरू व्यवसायिक योजना बनाएर घरमा नै बस्ने बताएका छन्।

दसैँभर मठ मन्दिरहरूमा गएर पूजापाठ गरी दसैँ मनाउने तयारी रहेको व्यवसायीहरूले बताएका छन्। दसैँमा विशेषतः मठ मन्दिर गएर पूजापाठ गर्ने, ठूलाबडाको हातको टिका लगाउने साथीभाईसँग रमाईलो गर्ने गरिन्छ।

नेपालीहरूको लागि दसैँ सबैको भेटघाट गर्ने थलो हो भने देश विदेशमा भएका आफन्तसँग भेटघाट र खुशी साटासाट गर्ने माध्यम नै दसैँ भएकाले पनि दसैँलाई विशेष मानिन्छ। आम मानिसहरूमा ठूला उद्योगी व्यवसायीहरूले दसैँलाई कसरी लिन्छन् र मनाउँछन् भन्ने चासोको विषय समेत बन्ने गरेको छ।

सोही सेरोफेरोमा उद्योगी, व्यवसायीहरूसँग कुराकानी गरिएको छ।

कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
दसैँ, तिहार, छठ र नेपाल सम्वत नेपालीहरूका महान पर्वहरू हुन्। तर सबैभन्दा बढी बिदाको समय दसैँमा हुन्छ। विजय दशमीको अवसरमा ९ दिनसम्म उद्योगमा पूजा गर्छौं। पूजा सकेपछि मात्रै काठमाडौं बाहिर जाने समय मिल्छ। यो वर्ष कारखानामा नवमीको दिनसम्म पूजा सक्ने र विदेश जाने सोच बनाएको छु। परिवारसँग यो वर्षको दसैँमा सिंगापुर जान लागेको छु। त्यहाँबाट परिवारलाई लिएर इण्डोनेसिया पनि जाने योजना छ।

दुईवटा उद्देश्य छ। घुमघामका साथै व्यवसायीक भेटघाट पनि रहनेछ। हरेक वर्ष दसैँ लागेसँगै सप्तमीका दिनदेखि उपत्यकामा रहेका सबै देवीका मन्दिरहरूमा पुग्ने कोशिस गर्छु। हरेक वर्ष प्राय पुग्ने गरेको छु। तलेजु भगवानको समेत दर्शन गर्ने योजना छ। सप्तमी,अष्ठमी र नवमी तीन दिन मन्दिरहरूको दर्शन सक्छु। बाँकी समयमा परिवार र भित्रहरूसँग भेटघाट गर्ने गर्छु। बाल्यकालको दसैँ जस्तो अहिले हुँदैन। चंगा उडाउन धेरै रहर लाथ्यो। तर अहिले नातीहरूसँग च‌ंगा उडाउने गरेको छु। बिदाको समयमा फिल्म हेर्ने गर्छु।

विगतमा मनाइने दसैँ र अहिले मनाउने दसैँमा धेरै परिवर्तन भइसकेको छ। अहिले दसैँमा बेलुका साथीहरूले गेट टुगेदरको योजना गर्ने गर्छन्। अहिले लाइफ स्टाइल परिवर्तन भएको छ। त्यहाँ पनि गइन्छ तर दसैँ धार्मिक पर्व भएकाले कहिल्यै रक्सीहरू खाँदिन। भोजनको आन्नदहरू लिने गरिन्छ।

भवानी राणा, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
विगतमा मनाउने दसैँ र अहिले मनाउने दसैँमा धेरै फरक छ। बाल्यकालमा मनाउने दसैँमा आउने रौनक र रमाइलो अर्कैै किसिमको हुने गथ्यो। उद्योगी व्यवसायीहरूको दसैँ अर्थतन्त्र ओरालो लागेको अवस्थामा छ। अर्थतन्त्रमा केही परिवर्तन भएको देखिएको छैन। उद्योगी व्यवसायीहरूलाई दसैँ मनाउन कठिन देखिएको छ।

उद्योगीहरूले मजदुरहरूको दसैँ रमाइलो बनाउने प्रयासमा छन्। बाढी पहिरोको कारण यो वर्षको दसैँ विगतको जस्तो रौनक देखिएको छैन। तर दसैँ मनाउनु पर्छ। मुलुकको धर्म संस्कृतलाई मान्नुपर्छ। विशेष गरी दसैँमा सबै भन्दा बढी पूजामा व्यस्त हुन्छु। नौरथा सुरु हुने बित्तिकै पूजा सुरु हुन्छ। नौ दिनसम्म वर्त पनि हुन्छ।

नौरथा अवधिभर म गुरु नै राखेर देवीको पूजाआजा गर्छु। नवमीको दिन पूजा सकिन्छ। अष्टमीको दिन नेपालगञ्जमा जान्छु। पुर्खेली घर भएकाले नेपालगञ्जमा गएर दसैँ मनाउँछु। अरुले जस्तै टीका लगाउने, आफूभन्दा ठूलाको आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिएर नै दसैँ मनाउँछु।

बाल्यकालमा दसैँ लागेसँगै पिङ हाल्ने,दसैँ आएसँगै मौसम पनि परिवर्तन हुन्छ। आफन्तसँग भेटघाट गर्ने,कलेज बढ्दा घर जाने,आमा बुबा र परिवारसँगको भेट हुँदा फरक किसिमको रमाइलो हुन्थ्यो। त्यो अहिले परिवर्तन भइरहेको अवस्था छ। गाउँतिर अझै पनि रमाइलो हुन्छ। म हरेक दसैँ नेपालमा नै मनाउने गरेको छु र मनाउँछु। दसैँ हिन्दुधर्मको लागि ठूलो पर्व पनि हो। परम्परालाई पनि निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्छु।

दसैँको समयमा विदेशमा विभिन्न कार्यक्रमहरू पनि हुन्छन्। तर पनि म कहिल्यै पनि गइन। दसैँ भनेको आफ्नो घरपरिवारसँग मनाउनुपर्छ। नेपालमै आफ्नो ठाउँमा बस्न रुचाउँछु। तर पछिल्लो समय धेरै व्यवसायीहरू बाहिर जाने पनि छन्। धेरै बिदाको कारणले गर्दा पनि होला। नेपालमा दसैँ मनाउँदा धेरै ठाउँमा जानुपर्ने भएकाले पनि विदेश जाने गरेको देखिन्छ। दसैँ आफ्नै देश,परिवार र साथीभाईहरूसँग मनाउनुपर्छ।

राजेन्द्र मल्ल, व्यवासायी
परिवारसँगै दसैँ मनाउने योजना छ। नवरात्रीको नौ दिनसम्म शक्ति पीठहरूमा गई पूजाआज गर्ने र घरकैै सदस्यहरूसँग नै मनाउने योजना रहेको छ। म जहिले पनि दसैँतिहार जस्ता पर्वमा आफ्नै मुलुकमा नै घरमा बसेर मनाउने र रमाउने प्रचलन छ।

यो वर्षको दसैँ गत हप्ताको बाढी र पहिरोले सबै नेपालीलाई पीडा दिएको छ। सोचेको जस्तो यो वर्षको दसैँ रमाइलो छैन। बाल्यकालमा दसैँ भनेपछि राम्रो लगाउने,मिठो खाने र रमाउने भन्ने थियो। त्यो बेला धेरै रमाइलो हुन्थ्यो। दसैँमा घरमा विभिन्न थरिका खानाहरू पाक्ने र पकाउने गरिथ्यो।

अहिलेको जस्तो जुनसुकै सामान पनि खरिद गर्न पाउने अवस्था थिएन।  बाल्यकालमा परम्परागत उत्पादन र पूजा गरेर मनाउने गरिन्यो। तर अहिले उमेरको कारण र जिम्मेवारीको कारण रमाइलो हुन छाड्यो। बच्चा जस्तो चनचले दसैँ हुँदैन तर रमाइलो गरेर मनाउँछौं। दसैँमा दाजुभाइ सँगै बसेर तास खेल्नेछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad