कारोबार


विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गर्दै छौँ : मन्त्री खड्का

विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गर्दै छौँ : मन्त्री खड्का

नेपालखबर
असोज २०, २०८१ आइतबार १८:११, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन्।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका छन्।

उनले अन्य छिमेकी राष्ट्रहरूले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोहीअनुरुप आग्रह गर्नुपर्ने बताए।

चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको उनको भनाइ थियो।

आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्ततः राज्यकै हुने भएकाले निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने धारणा राखे।

उनले भने, ‘जलविद्युतमा व्यक्ति, संस्था, निजी संस्थाहरू जजसले लगानी गरे पनि २५-३५ वर्ष पछाडि राज्यको हुने हो। २८ हजार मेगावाट विद्युत उत्पादन गर्न ६४ खर्ब लगानी गर्दै छौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्णरूपमा नेपाल सरकारको हुने हो। अहिले हामीलाई १० खर्बको चालु खर्च र ५-७ खर्ब जुटाउन हम्मेहम्मे छ। ऋण छ। भोलि सबै नेपाली धनी हुने हो र प्रतिव्यक्ति आय बढाउने हो भनेर तल्लो तहको मान्छेसम्म बुझाउने दायित्व पनि हाम्रै हो।’

मन्त्री खड्काको भनाइ थियो, ‘बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ। हामीले चीनसँग पनि कुरा गरिराखेका छौँ। सबै छिमेकीहरूले किन्छन्, उहाँहरू आफैँले पनि उत्पादन गर्नुहुन्छ, फेरि पनि किन्नुहुन्छ। तपाईंहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरूले किन नकिन्दिने भनेर उहाँहरूसँग आग्रह गर्दा नहोलाजस्तो मलाई लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad