ad ad

कारोबार


चीनसँगको नाका खोल्ने निर्णय गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई

चीनसँगको नाका खोल्ने निर्णय गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई

नेपालखबर
फागुन २६, २०७६ सोमबार १२:१९,

कोरोना भाइरसको कारण बन्द नेपाल–चीन नाका खोल्ने विषयमा चार मन्त्रालयका सचिवहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरेका छन्।

नाका बन्द हुँदा आयातनिर्यातमा असर गरेको भन्दै व्यापारीवृत्तबाट दबाब झेल्नुपरेपछि वाणिज्य, अर्थ, स्वास्थ्य र गृह सचिवले छलफललाई निरन्तरता दिएका हुन्।

चार सचिवबीच यो विषयमा यसअघि नै निरन्तर छलफल हुँदै आएको छ। व्यापारीहरुले नाका खुलाउन निरन्तर दबाब दिँदै आएका छन्। चीनसँगको व्यापारलाई समेत असर गरेको र पछिल्लो समय चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको भन्दै बन्द नाका खुलाउने विषयमा छलफल भएको हो।

उक्त बैठकमा सहभागी एक सचिवका अनुसार नाका खुलाउने विषयमा कुनै सहमति भने जुटेको छैन। आजको बैठकले चीनको नाका खुलाउन सकिने तथा नसकिने भन्ने विषयको निर्णय गर्ने जिम्मा भने स्वास्थ्य मन्त्रालयलाई दिएको छ।

‘चीनको नाका खुलाउने विषय स्वास्थ्यसँग जोडिएको छ। चीनको अहिलेको अवस्था कस्तो छ भन्ने विषय पनि स्वास्थ्य मन्त्रालयले नै अध्ययन गरिरहेको छ’, ती सचिवले नेपालखबरसँग कुरा गर्दै भने, ‘नेपालको चेकजाँचको अवस्थामा तथा त्यससम्बन्धी प्रविधि पनि स्वास्थ्य मातहतका निकायहरुसँग नै रहेको छ। त्यसकारण आजको बैठकले स्वास्थ्य सचिवलाई निर्णय गर्ने अधिकार दिएको हो।’

चीनको नाका खुलाउने विषय नेपालले चाहेर मात्रै त हुँदैन तर पनि नेपालको तर्फबाट पनि खुलाउने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने उनले बताए। स्वास्थ्यले चीनतर्फ अब खुलाउन सक्छ भनेपछि कूटनीतिक पहल गर्ने नेपालले तयारी गरेको छ।

चीनतर्फको नाका माघ १४ देखि बन्दप्रायः छ। नाकाबन्दीले नेपाल–चीन स्थलमार्गबाट हुने आयातनिर्यात पनि ठप्प भएको छ।

तर जलमार्गबाट हुने व्यापार भने अहिले पनि निरन्तर रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। चीनको केही वस्तु समुद्रबाट भारतको कलकत्ता पोर्ट हुँदै पनि आयात हुन्छ। जुन अहिले पनि सुचारु भइरहेको मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .