ad ad

कारोबार


चिलिमे-त्रिशूली प्रसारणलाइनको निर्माणलाई तीव्रता दिने सहमति

चिलिमे-त्रिशूली प्रसारणलाइनको निर्माणलाई तीव्रता दिने सहमति

नेपालखबर
फागुन २६, २०७६ सोमबार ८:२५,

रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनको कामलाई तीव्रता दिने सहमति भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तीव्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ।

टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन त्रिशूली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो ।

chilimi trishuli transmission line 2

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो। आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरुको विद्युत् यही प्रसारणलाइनमा जोडिनेछ।

सहमतिअनुसार, ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारणलाइन, चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमशः ४ सय, १ सय ३० र २ सय ५० श्रमिक परिचालन गर्नेछ।

ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेश भएका विलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुंग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्ने छन् ।

चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिजको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने बताए।

‘तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, अहिलको गतिमा प्रसारण लाइन र सबस्टेसनको निर्माण सक्नै धेरै समय लाग्छ, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन,त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिंड्नुहोस्’, उनले भने, ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्नेछौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्नेछ।’

ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारणलाइनसँगै चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ।

प्रसारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये ८ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ भने बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कन्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले जानकारी दिए।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था छ । निर्माण सामग्री तथा उपकरण लैजानका लागि रोपवेसमेत बनाइएको छ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।

ठेक्का सम्झौताअनुसार, प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र निर्माण सम्पन्न हुनु पर्ने थियो । अहिले ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ । परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .