कारोबार


३५ यात्रुको ज्यान लिएको झ्याप्लेखोलामा कसरी गयो पहिरो? रनभुल्ल छन् सरकारी निकाय

३५ यात्रुको ज्यान लिएको झ्याप्लेखोलामा कसरी गयो पहिरो? रनभुल्ल छन् सरकारी निकाय

नेपालखबर
असोज १४, २०८१ सोमबार १३:४६, काठमाडौँ

विस्तार भइरहेको सडकमा ढल निकासमा ध्यान नदिँदा झ्याप्ले खोलाले करिब ३ दर्जन मानिसको ज्यान लिएको छ।

काठमाडौं र धादिङको सीमामा विस्तार हुँदै गरेको सडकको माटो निरन्तर वर्षातपछिको पानीमा मिसिँदा बनेको लेदोले ४ वटा बस पुरेको देखिएको हो। 

सडक विभागले केही महिनायता नागढुंगादेखि मुग्लिङसम्म सडक विस्तार गरिरहेको छ। तर भवितव्यको बेवास्ता गर्दा झ्याप्लेखोलामा ठूलो मानवीय क्षति भएको हुन पुगेको पाइएको छ। अहिलेसम्म कुन कारणले पहिरो गयो भन्ने नै स्पष्ट नभएको सडक विभाग बताउँछ।   

नागढुंगाबाटै फराकिलो बनाउन सडक विस्तार र निर्माण कार्य भइरहेको छ। सो क्रममा पानीको उचित निकास नै दिइएको छैन।

परिणामत: उक्त पानी सडकबाट बग्दै कमजोर माटो रहेको ठाउँबाट झर्दा सिधै तल पर्ने झ्याप्लेखोलामा गत शुक्रबार राति गाडी पुरिने गरी पहिरो गएको अनुमान छ।

‘नागढुंगाबाट नौबीसेसम्म सडक विस्तारको काम भइरहेको छ। साबिकका ढल र पानी निकासको व्यवस्था छैन’, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी भन्छन्, ‘दैनिक ४० टनका गाडी गुड्ने सडकमा लगातार पानी पर्दा माटो कमजोर भएर माटोसहितको पानी बगेको हुनसक्छ।’

सडक विभागले तलबाट रिटेनिङ वाल उठाउनेदेखि भित्ता काटेर सडक विस्तारसम्मका काम गरिरहेको छ। सडकको नयाँ संरचना बन्दा सडकको छेउमा खुल्ला माटो छ।  

‘सडक हुँदै बगेको पानी झ्याप्ले खोलाबाट झर्दा खनेको माटोसहित सिधै तल सडकमा पुगेको देखिन्छ’, शनिबार दिउँसो घटनास्थलमा पुगेका मेयर गिरीले नेपालखबरसँग भने, ‘हिँडिरहेको गाडीमा एक्कासि माथिबाट लेदो बग्दा गाडी पुरिएका देखिन्छन्।’

उनले शनिबार आफूहरु पुग्दा बस नै पुरेको नदेखिएको बताए। 

‘बस नै पुरिएको त हामीले अनुमान नै गर्न सकेनौँ। माइक्रो पुरिएको देखिएकाले मानिस हुन सक्छन् भनेर डोजर पठाएका थियौँ’, उनले भने, ‘लेदो हटाउँदै जाँदा थाहा भयो– बस नै पुरिएको रहेछ। शवहरू भेटिए।’

पहिरोस्थलमा लामो समय बिताएका नागढुंगा-नौबीसे सडक निर्माण आयोजनाका प्रमुख केशव ओझाले छेउमा पहिरो गएको ठाउँमा उकालो भएकाले सडकको पानी नै खोल्सामा बग्दा दुर्घटना भयो भन्न सक्ने अवस्था नरहेको बताए।

यस ठाउँमा सडक दुई तिरबाट घुमेको छ। माथिल्लो सडकमाथिबाट पहिरो गएको छ। 

‘पातलेवनबाट आउने पानी खोल्सीबाट (तल झ्याप्ले खोला) सिधै झर्‍यो वा झरेन भन्न सकिँदैन’, ओझाले थपे, ‘तर माथिको सडकको कुनामा पहिरो गएको हुँदा त्यसले नाली र बाटोको पानी छेकेर खोल्सीबाट एक्कासि तल गएको हुन सक्छ।’

उक्त ठाउँमा २०५८ सालमा पहिरो गएको र अहिले ससाना रुखबिरुवा उम्रिएको अवस्था छ। माथिको सडकमा पहिरो जाँदा माटो छेउमा फाल्ने गरिन्छ। विभिन्न समयमा सडक निर्माण गर्दा उक्त ठाउँमा माटो झारिएको छ। अधिकांश ठाउँमा त्यस्तै गरिन्छ। भित्तामा कुनै पहिरो गए छेउमा माटो फालिन्छ। अहिले त्यही माटोका कारण ठूलो जनधनको क्षति भएको छ। 

‘बाटो थुनिएर पानी खोल्सीबाट जाँदा पुरानो फुक्का माटो बगाउँदै गएर पुर्‍यो कि भन्ने अनुमान मात्रै गर्न सकिन्छ’, ओझाले भने, ‘खास कारण के हो, भूगर्भविद्ले अध्ययन गरेपछि मात्रै भन्न सकिन्छ।’

सडक थुनिएर पानी नबगे पनि लगातारको वर्षाले खुकुलो माटो बगाएर एकैपटक ठूलो लेदो लगेको हुन सक्ने उनको अनुमान छ। 

‘विभिन्न समयमा सडक बनाउँदा फालिएको माटो र लगातार पानी पर्दा खुकुलो भएको माटोकै कारण दुर्घटना भएकोमा कुनै दुईमत भएन’, उनी भन्छन्, ‘तर सडकको पानी रोकिएर त्यही खोल्सीबाट बग्यो भन्नेचाहिँ यकिन हुन सकिएन।’

अब नागढुंगा हुँदै गाडी आउजाउ गर्न सक्ने अवस्था बनेको आयोजनाले जानकारी दिएको छ। नौबीसेबाट काठमाडौं आउने क्रममा झ्याप्लेखोला सुरुङमार्गभन्दा माथि नागढुंगातर्फ पर्छ।

पृथ्वीराजमार्ग अधिकांश ठाउँमा खुलेको छ। कुनै ठाउँमा एकतर्फी मात्रै गाडी गुडिरहेका छन् भने कुनै ठाउँमा दुईतर्फी नै गाडी गुडिरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad