ad ad

कारोबार


कोरोनाले राेकेन वैदेशिक रोजगारी, फागुन महिनामा जाने झन् धेरै

कोरोनाले राेकेन वैदेशिक रोजगारी, फागुन महिनामा जाने झन् धेरै

उजिर कार्की
फागुन २३, २०७६ शुक्रबार १६:२४,

कोरोना भाइरसका कारण नेपाली श्रमिकका प्रमुख गन्तव्य देशहरु समेत प्रभावित भएपनि त्यसको असर नेपाली श्रमिकमा भने देखिएको छैन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबारसम्म कुनै पनि देशमा नेपाली संक्रमित नभएको बताएको छ।

श्रममन्त्री रामेश्वर राय यादवले हालसम्म कुनै पनि देशमा रहेका नेपाली प्रभावित नभएकै कारण त्यहाँ जाने श्रमिकलाई नरोकिएको बताए।

नेपाली प्रभावित नभएपनि विश्वका ८९ देश प्रभावित भइसकेका छन्। प्रभावित कतिपय देशमा रहने नेपालीको संख्या ठुलो छ। त्यसमाथि दैनिक त्यहाँ जाने क्रम रोकिएको छैन।

पछिल्लो दिनमा पनि दैनिक २ हजार बढी श्रमिक वैदेशिक रोजगारीमा गइरहेको पाइएको छ। यो संख्या गत वर्षको पुरै फागुन महिनामा भन्दा धेरै हो। २०७५ को फागुनमा १७ हजार ८ सय ७५ जना म्यानपावर कम्पनी मार्फत विदेश गएका थिए। गएको माघ महिनामा म्यानपावर कम्पनी मार्फत ८२ देशमा २५ हजार १ सय ७१ जना विदेशिएका थिए। फागुनमा योभन्दा धेरै जाने देखिएको छ।

म्यानपावर कम्पनीले फागुन २२ गतेसम्ममा १९ देशमा २१ हजार ७ सय ३१ जना श्रमिक विदेश पठाएका छन्। बिदामा फर्किएर र व्यक्तिगत तबरले जानेको संख्यासहित यो महिना ४० हजार ९ सय ९६ जना विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। यो संख्या अन्तिम श्रम स्वीकृति लिनेको भएपनि श्रम स्वीकृति लिएका श्रमिकहरु नरोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए।

पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १७ हजार ३ सय १३ छ। यसमध्ये ९ सय ७४ जना महिला पुनः फर्किएका हुन्।

कोरोना भाइरसको संक्रमणसँगै देशबाहिरको आवातजावतमा सरकारले कडाइ गर्ने भनेको थियो। अति आवश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह छ। तर वैदेशिक रोजगारीमा जानेहरुका बारेमा भने सरकारले कुनै निर्णय गरेको छैन। विश्वभर झण्डै एकलाख मानिस कोरोनाबाट संक्रमित रहेको बीबीसीले जनाएको छ। विभिन्न देशमा गरी ३ हजार ३ सय जनाको ज्यान गइसकेको छ।

नेपाली रोजगारीका लागि जाने दक्षिण कोरियामा ६ हजार बढी संक्रमित छन्। कोरियामा संक्रमण बढेसँगै त्यहाँ जाने तयारीमा रहेका नेपालीलाई रोकिएको छ। शुक्रबार विभागले अझै १५ दिन कोरियामा कामदार पठाउन नसकिने निर्णय गरेको छ। त्यहाँ संक्रमण बढ्दै गए नेपाली श्रमिक कहिले पठाउने अनिश्चित छ।

हालसम्म ५० जना संक्रमित देखिएको मलेसियामा सबैभन्दा धेरै नेपाली पुगेका छन्। म्यानपावर कम्पनीमार्फत ६ हजार ५ सय ५२ जना नेपाली रोजगारीका लागि फागुन महिनामा मलेसिया उडेका छन्। बिदामा आएर फर्किनेको संख्या २ हजार १ सय ५५ र व्यक्तिगत रुपमा जानेको संख्या १८ गरी ८ हजार ७ सय २५ जना नेपाली फागुनमा त्यहाँ पुगेका छन्। बितेका २२ दिनमा सबैभन्दा धेरै श्रमिक मलेसिया गएका छन्।

कुवेत, युएई, कतार र साउदीमा पनि कोरोना संक्रमित फेला परिसकेका छन्। तर त्यहाँ जाने श्रमिकको पनि संख्यामा कुनै कमी नआएको पाइएको छ। म्यानपावर कम्पनीमार्फत फागुनका २२ दिनमा युएई ५ हजार ४ सय २० र साउदी ४ हजार ७ सय ८३ जना पुगेका छन्। यस्तै कतार २ हजार ७ सय ५९ जना र कुवेत एक हजार जना पुगेको विभागको तथ्यांक छ।

साढे तीनसय संक्रमित रहेको जापानमा पनि नेपाली कामदार रोकिएका छैनन्। म्यानपावर कम्पनीले ३ महिलासहित ४१ जनालाई जापान पठाएका छन्।

दक्षिण कोरियामा पनि ३ जना श्रमिक गएका छन्। यद्यपी नेपालीहरुको अर्को गन्तव्य मुलुक कुवेतले भने विदेशी कामदार रोकेको छ। यस्तै, केही दिन अघि मात्रै वहराइन जान लागेका ३० जना नेपाली यूएईबाट फर्काइएका थिए। तर, बहराइनले अन्तर्राष्ट्रिय उडानमा गरेको कडाइका कारण उनीहरु फर्कनु परेको श्रम मन्त्रालयले जनाएको छ।

श्रम मन्त्रालय तत्कालै वैदेशिक रोजगारीमा जानेलाई रोक्ने पक्षमा देखिएको छैन। शुक्रबार व्यवसायीले श्रममन्त्रीसँग यसै विषयमा छलफल गरेका छन्। छलफलमा तत्कालै नेपाली श्रमिक जाने कुनै पनि देशमा तत्काल रोक नलगाउने सहमती भएको संघका महासचिव श्रेष्ठले बताए।

एकतर्फी श्रमिक पठाउन बन्द गर्दा गन्तव्य मुलुकमा गलत सन्देश जाने भन्दै तत्काल कुनै निर्णय नगर्ने पक्षमा मन्त्री र व्यवसायी एकमत देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .