दक्षिण कोरियाले नेपाली कामदारकाे कोटा घटाएको छ। आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने भएको हो।
एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो।
आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने पनि कोरियाले जानकारी गराएको छ। तर यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउनेछन्।
गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो।
दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको हो। पहिलो वर्ष २ हजार ८ सय १४ जना दक्षिण कोरिया पुगेका थिए। २००९ मा भाषा परीक्षा सञ्चालन भएन।
त्यस वर्ष अघिल्लो वर्ष परीक्षा दिएका १ हजार ९ सय ११ जना दक्षिण कोरिया उडेका थिए। त्यसपछि नियमित भाषा परीक्षा सञ्चालन गरेको कोरियाले सन् २०१२ मा भने परीक्षा लिएन।
त्यसपछि नियमित नेपाली श्रमिक भाषा परीक्षा सञ्चालन गरेर लैजाँदै आएको छ। ईपीएस लागू भएपछि ६३ हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। हाल करिब ४० हजारजति कार्यरत रहेको ईपीएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।
बायोमेट्रिक लागू
यसैबीच, दक्षिण कोरिया जाने श्रमिकका लागि पनि यो वर्षदेखि बायोमेट्रिक सुरु हुने भएको छ। अब ईपीएस भाषा परीक्षामा सहभागी हुनुपहिले बायोमेट्रिक परीक्षण गरिनेछ। यसका लागि हरेक परीक्षा सेन्टरमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिने निर्देशक खनालले बताए।
भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको सीप परीक्षण गर्ने बेलामा पनि बायोमेट्रिक जाँच गरिनेछ। यी सबै प्रक्रिया पूरा भएपछि कोरिया उड्ने बेलामा पनि बायोमेट्रिक म्याचिङ गराइने खनालले जानकारी दिए।
यसले नक्कली परीक्षार्थीको संख्या शून्य हुने कोरियाको विश्वास छ। एचआरडी कोरियाको प्रस्तावमा बायोमेट्रिक लागू गर्न लागिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए।
श्रमिकको उडान १५ दिनपछि धकेलियो
यस्तै, सबै प्रक्रिया पूरा गरे पनि कोरोनाको त्रासका कारण दक्षिण कोरिया जान नपाएको श्रमिकको उडान थप १५ दिनपछि धकेलिएको छ। शुक्रबार भएको छलफलले अझै १५ दिन कोरियामा श्रमिक नपठाउने निर्णय गरेको महानिर्देशक दाहालले बताए।
यसरी उड्न लागेका कतिपय श्रमिकको भिसा सकिन लागेको ईपीएस शाखाले जनाएको छ। उनीहरुको भिसा सकिन लागेको बारे नेपालस्थित दक्षिण कोरियाली दूतावासलाई पत्र लेख्ने तयारी भएको छ। श्रमिकको भिसा सकिन लागेको जानकारी गराउँदै भिसाको म्याद थप गर्न पत्राचार गरिने महानिर्देशक दाहालले बताए।
रोस्टरमा रहेका श्रमिको कोरिया उडानपछि धकेलिए पनि समस्या नहुने ईपीएस शाखाले जनाएको छ।
प्रतिक्रिया