ad ad

कारोबार


माथिल्लो कर्णालीमा लगानी गर्न भारतको इरेडाले जीएमआर र एसजेभीएनसँग गर्‍यो सम्झौता

माथिल्लो कर्णालीमा लगानी गर्न भारतको इरेडाले जीएमआर र एसजेभीएनसँग गर्‍यो सम्झौता

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १३:१५, काठमाडौँ

भारतीय नवीकरणीय ऊर्जा विकास संस्था (इरेडा) लिमिटेडले नेपालको जलविद्युत् आयोजना माथिल्लो कर्णालीमा लगानीका लागि भारतीय कम्पनीहरु एसजेभीएन लिमिटेड र जीएमआर इनर्जी लिमिटेडसँग समझदारीपत्रमा सोमबार हस्ताक्षर गरेको छ।

९ सय मेगावाटको माथिल्लो कर्णाली निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएको छ। यसका लागि लगानी खोजिरहेको छ।

आयोजनाको ७३ प्रतिशत सेयर जीएमआर र २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणसँग छ। जीएमआरको ७३ प्रतिशतमध्ये ३६.५ प्रतिशत सेयर एसजेभीएनले पाएको छ। आयोजनामा जीएमआरसँग एसजेभीएन जोडिएकोमा अहिले इरेडा पनि थपिएको हो। आयोजनामा इरेडाले १० प्रतिशत सेयर खरिद अर्थात् २ अर्ब ९० करोड भारतीय रुपैयाँ लगानी गर्ने बताइएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीमा भएको यो सहकार्यले नवीकरणीय ऊर्जा पूर्वाधार विकासबाट क्षेत्रीय ऊर्जा सुरक्षालाई वृद्धि गर्ने जनाइएको छ। 

हस्ताक्षर समारोहमा एसजेभीएनका सीएमडी सुशील शर्मा, इरेडाका वित्त निर्देशक डा. बीके मोहन्ती, एसजेभीएनका वित्त निर्देशक अखिलेश्वर सिंह र अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिमा भएको हो। समझदारीपत्रमा इरेडाका महाप्रबन्धक एसके शर्मा, जीएम जितेन्द्र यादव र जीएमआरका प्रमुख कार्यकारी (सीईओ) एसएन बार्डेले हस्ताक्षर गरेका थिए। 

इरेडाका प्रमुख तथा प्रबन्धनिर्देशक (सीएमडी) प्रदीप कुमार दासले भने, ‘यो महत्त्वपूर्ण जलविद्युत आयोजनामा हाम्रो लगानीले इरेडाको नवीकरणीय ऊर्जा विस्तारमा हाम्रो प्रतिबद्धतालाई जनाउँछ। यो सहकार्यले नेपालको जलविद्युत क्षेत्रको विकास मात्रै नगरी दिगो विकासको साझा लक्ष्यप्राप्तिलाई सहयोग गर्दै क्षेत्रीय ऊर्जा सहकार्यलाई पनि मजबुत बनाउँछ।’

गत जुलाई १६ मा इरेडाको बोर्ड बैठकले माथिल्लो कर्णालीमा लगानी गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। 

नेपाल सरकारले भारतीय जीएमआरलाई ९०० मेगावाटको आयोजना बनाउन १० वर्षअगाडि अर्थात् सन् २०१४ मै जिम्मा दिएको थियो। तर लगानी जुटाउन नसक्दा म्याद थप गर्दै आयोजना होल्ड हुँदै आएको छ। सर्वोच्च अदालतले लगानी सम्झौताका लागि अब एक पटक मात्रै म्याद थप गर्न परमादेश जारी गरिसकेको छ। 

यो आयोजनाबाट बंगलादेशले ५०० मेगावाट बिजुली लैजाने समझदारी समेत भइसकेको छ। १ दशकअघिको परियोजना विकास सम्झौता (पीडीए) अनुसार यसको कुल निर्माण लागत १ खर्ब १६ अर्ब रुपैयाँ पर्ने अनुमान गरिएको थियो। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .