कारोबार


वीरगन्ज भन्सारले साउनमा संकलन गर्‍यो १२ अर्ब १६ करोड राजस्व

वीरगन्ज भन्सारले साउनमा संकलन गर्‍यो १२ अर्ब १६ करोड राजस्व

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १२:४५, वीरगञ्ज (पर्सा)

प्रमुख भन्सार नाका मानिने वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ।

साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो। 

भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताउनुभयो । ‘‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन्,’’ उनले भने, ‘‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व सङ्कलन हुनलाई उत्साहजनक मान्नुपर्छ।’’

भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो। 

चालू आवको पहिलो महिनामा वीरगन्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो। 

आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो। चालू आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ। चालू आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ।

गत आव २०८०/८१ को साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो। गत आवको तुलनामा चालू आवको साउन महिनामा सात दशमलव १६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad