नेपाली बजारमा आउनलागेको टाटाको पञ्च ईभी अहिले नेपालकै विभिन्न ठाउँमा परीक्षण भइरहेको छ।
बहुप्रतीक्षित ईभीलाई कम्पनीले आगामी भदौ ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो सोमा ‘हटकेक’को रुपमा प्रस्तुत गर्दै छ।
भारतमा गत जनवरीमा लञ्च गरिएको पन्च नेपालमा भने ७ महिनापछि बजारमा आउनलागेको हो। नेपालमा टाटाको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली सडकमा पन्चको सफल परीक्षण समेत गरेको छ।
‘काठमाडौं उपत्यका आसपासका धेरै ठाउँमा परीक्षण गर्दा एकदमै राम्रो देखिएको छ’, सिप्रदी ट्रेडिङका एक अधिकारीले भने, ‘नेपालको सडक अवस्थाअनुसार उकालो ओरालो परीक्षणको लागि दामन लैजाँदा पनि पर्फमेन्स उच्च छ।’
कम्पनीले २०२३ को नाडा अटो सोमा टियागोलाई ‘हटकेक’को रुपमा प्रस्तुत गरेको थियो। नेपाली बजारमा सार्वजनिक भएका विद्युतीय गाडीमध्ये कम मूल्यको रहेकाले गत वर्ष टियागोमा धेरै भीड लागेको थियो।
भारतमा नेक्सनको फेसलिफ्ट सार्वजनिक भए पनि नेपालमा तत्काल आउने सम्भावना नभएको कम्पनीले जनाएको छ। नेपाली ग्राहकको बढी रुचि विद्युतीय गाडीतर्फ भएकाले टाटाको पन्च आकर्षक प्रोडक्टको रुपमा देखिँदै छ।

आगामी भदौमा हुने नाडा अटो सोमा टियागोजस्तै पन्चले पनि ग्राहक तान्ने अनुमान छ। परीक्षण राम्रो देखिएसँगै कम्पनीले पन्चको प्रि–बुकिङ खोलिसकेको छ। मूल्य ४२ लाख वरपर हुने अनुमान गरिए पनि कम्पनीले आधिकारिक मूल्य सार्वजनिक गरेको छैन।
ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रि–बुकिङ्ग गर्न सक्नेछन्। प्रि–बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरु हुनेछन्।
नेपालमा उपलब्ध टाटाका गाडीहरुमध्ये ईभी पन्च मात्रै पूर्णरुपमा विद्युतीय प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो हो। ईभी गाडीमा आधुनिक प्रविधिहरु छन्।
कम्पनीले भनेको छ, ‘पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती छ। एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा छ।’
पन्चमा १६–इन्च एलआरआर टायर, १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। नेपाली सडकको लागि १८० एमएम गाडीको उचाइ उपयुक्त मानिन्छ। प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्सलगायतका विशेषताहरु छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ।

२ वटा भेरियन्टमा रहेको पञ्च ईभीमा मोटर पावर ६० र ९० किलोवाट छ। ६० किलोवाट मोटर रहेको गाडीमा २५ किलोवाट आवरको ब्याट्री र ३१५ किमि रेन्ज छ भने ९० किलोवाटको मोटर रहेको लंग रेन्जको पन्चमा ३५ किलोवाट आवरको ब्याट्री गाडीले ४२१ किमिसम्म रेन्ज दिन्छ।
कम्पनीका अनुसार भारतमा टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।
सेफ्टी रेटिङमा भारत एन्क्यापमा ५ स्टार पाएको पन्चमा ६ वटा एयरब्याग छन्। यसमा सिटी र स्पोर्ट्स २ मोड छन्। कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएका छन्।
आधुनिक फिर्चसमा ३६० भ्यू क्यामेरा, ब्लाइन्ड स्पोट मनिटर, वायरलेस स्मार्ट फोन चार्जर, मल्टिपल भ्वाइस एसिस्टेन्ट, अटो हेडल्याम्प छ।

गाडीको लम्बाइ ३८ सय ५७ एमएम, १७ सय ४२ चौडाइ र उचाइमा १६ सय ३३ एमएम र ह्विलबेस २४ सय ४५ एमएम छ। ३.३ किलोवाट एसी चार्जरबाट ९.४ घण्टा लाग्छ भने ७.२ किलोवाटको एसी चार्जरबाट ३.६ घण्टा लाग्छ। ५० किलोवाटको डिसी फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशतसम्म ५६ मिनेटमै पुग्छ।
कम्पनीले गाडीको मोटरमा ८ वर्ष वा १६० किलोमिटर र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी छ। उत्पादक कम्पनीले ५ रंगमा उत्पादन गरिरहेको छ।
Shares

प्रतिक्रिया