०५९ साल असोजको एक दिन। पाइलट अरुण मल्ल कर्णाली एयरको हेलिकोप्टर लिएर काठमाडौँबाट सोलुखुम्बुको जुबुतर्फ उडे।
उनको हेलिकोप्टरमा चार यात्रु थिए।
उनीहरूमध्ये दुईजना किरियापुत्री थिए। जसले गाउँमा गएर किरिया बस्न हेलिकोप्टर चार्टर्ड गरेका थिए। त्यतिबेला कर्णाली एयरले त्रिभुवन विमानस्थललाई आधार बनाएर चार्टर्ड हेलिकोप्टर उडान गर्थ्यो।
संकटकालको बेला थियो। युद्धको चपेटामा परेको गाउँमा हेलिकोप्टर लिएर जानु आफैँमा जोखिमयुक्त काम थियो।
मध्य दिउँसो पाइलट मल्लले हेलिकोप्टर साबिक जुबु गाविस वडा नम्बर १ (हाल थुलुङ दूधकोसी गापा–४) मा कोदोबारीको बीचमा अवतरण गरे।
उनी यात्रुलाई ओराल्ने तयारीमै थिए, पाँचसात माओवादी लडाकुले हेलिकोप्टर घेरिहाले। तिनले पाइलट मल्ल र चार यात्रुलाई बाहिर निस्किन आदेश दिए।
उनीहरू बाहिर निस्किनेबित्तिकै लडाकुहरूले तेल छर्केर हेलिकोप्टरमा आगो झोसिदिए।
त्यसपछि माओवादीहरूले दुई किरियापुत्रीलाई घर जान दिए भने पाइलट मल्ल र स्थानीय इन्द्रबहादुर गुरुङलाई साथै हिँड्न भने।
त्यसअघिसम्म माओवादीले सर्वसाधारण बोकेको हेलिकोप्टरलाई निसाना बनाएका थिएनन्। तर, कर्णाली एयर भने माओवादीको निसानामा पर्न थालेको थियो। किनकि अरु हेलिकोप्टर कम्पनीले सेना–प्रहरी बोक्न नमाने पनि कर्णाली एयरले प्रहरी ओसार्ने गरिरहेको थियो। त्यसमाथि तत्कालीन शाही नेपाली सेनाका अधिकृत र कांग्रेस सांसद रहिसकेका नारायणसिंह पुनले सो हेलिकोप्टर कम्पनी खोलेका थिए।
माओवादीको अपहरणमा परेपछि पाइलट मल्ल खबरमा छाए। परिवार अत्यासमा पर्यो। तर, केही दिनपछि माओवादीले उनलाई खोटाङको ऐँसेलुखर्क पुर्याएर नागरिक समाज र मानव अधिकारकर्मीको रोहबरमा छाडिदियो।
उनले उडाएको हेलिकोप्टर आगोमा खरानी भए पनि उनी सकुशल फर्किन सफल भए।
तर, त्यसपछि पनि उनलाई संकटले पछ्याइरह्यो। युद्धकालमै उनले उडाएको हेलिकोप्टर पश्चिम नेपालको जुम्लानजिक पुगेपछि माओवादीले प्रहार गरेका थिए। गोलीले हेलिकोप्टर छेडे पनि उनलाई केही भएन। उनले सकुशल अवतरण गराए।
२०७० असोज १० मा लुक्ला विमानस्थलमा भएको ठूलो दुर्घटनामा पनि उनी मृत्युलाई छल्न सफल भए। क्याप्टेन मल्लसहित ५ जना सवार दुर्घटनामा परे पनि बाँच्न सफल भएका थिए।
त्यस्तै, क्याप्टेन मल्लले नै उडाएको हेलिकोप्टर २०७९ चैतमा ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा पुच्छर ठोक्किएको थियो। त्यसबेला पनि केही भएन।
तर, बुधबार भने नुवाकोट दुर्घटनामा उनले ज्यान गुमाए। उनीसँगै चार चिनियाँ पर्यटकको पनि मृत्यु भयो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा जन्मेका क्याप्टेन मल्लले युक्रेनको ओडेसा सहरमा पाइलट कोर्स गरेका थिए। उनीसँगै ९ जना एकैपटक हेलिकोप्टर पाइलट बनेर नेपाल फर्केका थिए।
‘युक्रेनको ओडेसा सहरबाट हामी ९ जना हेलिकप्टर पाइलट भएर नेपाल फर्केका थियौँ,’ मल्लका सहपाठी अनिल थापा भन्छन्, ‘तीमध्ये २ जना रवि गुरुङ र अशोक केसी पहिले नै स्वर्गलोक पुगिसके, अहिले अरुण दाइ।’
बेनीकी चन्नु मल्लसँग विवाह गरेका मल्लका २ छोरी छन्। उनीहरूको बिहे भइसकेको छ। ५८ वर्षीय मल्ल ललितपुरमा बस्दै आएका थिए।
म्याग्दीको पुर्ख्यौली घर पुरानो भएकाले उनी जीर्णोद्धार गर्दै थिए। जन्मस्थलमै खेतीपानी र पशुपालन गरेर सेवानिवृत्त जीवन बिताउने उनको योजना थियो।
‘रिटायर्ड हुन अब एक वर्ष बाँकी छ, त्यसपछि जन्मेको गाउँ म्याग्दीतिरै बस्छु,’ मल्लले जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन कर्मचारी ज्ञानदीप विश्वकर्मालाई सुनाएका थिए, ‘अहिले घर मर्मतको काम चलिरहेको छ।’
बादलमा हेलिकप्टर छिराउँदा दुर्घटना : प्राधिकरण
साउन २३ गते दिउँसो १ः५४ मा एयर डाइनेस्टीको एनएन एजेडी कलसाइनको जहाज दुर्घटनामा पर्यो। काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीकालागि उडान गरेको ३ मिनेटमै टावरसँग सम्पर्कविच्छेद भएको थियो। हेलिकोप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो।
सुरुमा स्थानीयले खबर गरेपछि प्रहरी र प्रभुको हेलिकप्टर दुर्घटना स्थलमा पुगेका थिए। दुर्घटनामा परी पाइलट मल्लसहित टाङ जुटो, वी वाईओ, ली जी र छी जेनमिङको ज्यान गयो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सिभिल एभिएसनको भिजुअल फ्लाइट रुटले (भीएफआर) अनुमति नदिएको र बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको बताउँदै यसमा जिम्मेवार चालक दल नै देखिएको दाबी गरेका हुन्।
Shares
प्रतिक्रिया