ad ad

कारोबार


प्रधानमन्त्रीले मागे पोखरा र गौतमबुद्धमा नियमित अन्तर्राष्ट्रिय उडानको योजना

प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा कार्यदल गठन
प्रधानमन्त्रीले मागे पोखरा र गौतमबुद्धमा नियमित अन्तर्राष्ट्रिय उडानको योजना

नेपालखबर
साउन १८, २०८१ शुक्रबार २०:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नुपरेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीर रूपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले दुवै विमानस्थल प्रभावकारीरूपमा सञ्चालनका लागि अध्यागमनलगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थलनजिक राख्न लागिएको भए अन्यत्र सार्न, इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउन्ड ह्यान्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो, त्यही निकायलाई दिन निर्देश गरे।

छलफलपछि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरू रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिइएको छ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, श्रम तथा रोजगारमन्त्री शरत्सिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .