ad ad

कारोबार


विवादमा तानिए नागरिक उड्डयनका महानिर्देशक अधिकारी, कारबाही होला?

विवादमा तानिए नागरिक उड्डयनका महानिर्देशक अधिकारी, कारबाही होला?

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी


वसन्त अर्याल
साउन १७, २०८१ बिहिबार ७:२९, काठमाडौँ

सामाजिक सञ्जाल एक्स (ट्विटर)मा मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एउटा स्टाटस लेखे– ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन जितेभन्दा नि लाज...’

महानिर्देशक अधिकारीको राजीनामा वा निलम्बन गनुपर्र्ने संसदमा उठिरहेको बेलामा उनको अभिव्यक्ति विवादित बनेको छ। 

उनले सांसदलाई नै ‘गधा’ इंगित गरेको भन्दै कांग्रेस सांसदले आक्रोश पोखेका छन्। 

प्राधिकरण महानिर्देशकलाई जवाफ दिँदै कांग्रेस सांसद राजेन्द्र बजगाईंले महानिर्देशक अधिकारीको नाम नै किटेर ‘भ्रष्ट स्याल’ भनेका छन्।

‘भ्रष्ट स्यालले सिंह सम्झेर सार्वभौम संसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेछ। बाघले एक्लै शिकार गर्ने गर्छ भन्ने कुरा नागरिक उड्डयन (प्राधिकरणका) कार्यकारी निर्देशक (महानिर्देशक) प्रदीप अधिकारी (लाई) थाहा छैन होला’, सांसद बजगाईंले एक्समै लेखेका छन्, ‘माननीय उदय (कांग्रेस सांसद उदय शमशेर राणा, (राप्रपा अध्यक्ष) राजेन्द्र लिङ्देन र म एक्लै एकै शिकार गर्न निस्कियौँ भने दुनियाँको कुनै शक्तिले बचाउनेछैन।’

राजेन्द्र बजगाईंको भनाइलाई सांसद उदय शमशेर राणाले सार्वजनिक रुपमा बोलेकोमा प्रशंसा गरेका छन्। 

कांग्रेस सांसद राणाले मंगलबार संसदमा क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन माग गरेका थिए।

सन् १९६२ देखि आजसम्म ७२ वटा जहाज दुर्घटना भएको छ भने ९३५ जनाको ज्यान गएको छ। यी दुर्घटनामा जहाजसँगै हेलिकप्टर पनि परेका छन्। 

‘हाम्रो आयोगले बनाउने रिपोर्टमा पाइलट, मर्मतसम्भार र प्राविधिक कारण देखाइने गरेको छ। प्राधिकरणले कहिल्यै जिम्मेवारी लिनुपर्दैन’, राणाले भने, ‘प्राधिकरणका महानिर्देशक २०७८ माघमा नियुक्त भएका थिए। यो बीचमा ७ वटा दुर्घटना भएको छ। ११८ यात्रुको मृत्यु भएको छ।’

अरु मुलुकमा भए जिम्मेवार नेतृत्वले राजीनामा दिने चलन रहेको उनले सुनाए। 

‘अहिलेको महानिर्देशकले राजीनामा दिनुपर्दैन? नभए नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म महानिर्देशकलाई निलम्बन गर्न किन सक्दैन?’, सरकारलाई उनको प्रश्न थियो।

सन् २०२२ को आईकाओको रिपोर्टलाई उल्लेख गर्दै औसतभन्दा राम्रो अर्थात् ६० देखि ७० अंक पाएको तर दुर्घटना अनुसन्धानमा २१.५९ र नेपाल नागरिक उड्डयन प्राधिकरणको संगठन संरचनामा ४५.४ अंक प्राप्त गरेको उनको भनाइ छ।

‘यसको अर्थ एउटा मान्छेको शरीरका सबै अंग ठीक छन् तर मुटु ठीक छैन भन्ने हो’, राणा भन्छन्, ‘प्राधिकरणमा आन्तरिक सुधार आवश्यक छ।’

न्युयोर्क टाइम्सले नेपालमा दुर्घटना हुनुको कारण ‘एउटै टाउकोमा २ टोपी’ उल्लेख गरेको छ। यसको अर्थ नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रुपमा विधेयकबाटै टुंग्याउनुपर्ने उनको भनाइ छ। 

साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदले प्राधिकरणको नेतृत्वमाथि प्रश्न गरेका थिए।

सांसदहरुले युरोपेली संघ (ईयू)को कालोसूचीबाट हटाउन भूमिका नखेलेको समेत आरोप लगाएका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समेत उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको बताएका थिए। सांसद एकनाथ ढकालले महानिर्देशक अधिकारी पन्छिन खोजेको बताउँदै सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनुपर्ने र त्यसो नभए राजीनामा दिनुपर्ने बताएका थिए। 

महानिर्देशक अधिकारीले अहिलेसम्म भएका हवाइ दुर्घटना र मुत्यु भएकाको जिम्मेवारी लिने बताएका थिए। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संसदमा प्राधिकरणका नेतृत्वमाथि प्रश्न उठाएका छन्। सार्वजनिक लेखा समितिअन्तर्गत पोखरा विमानस्थल सञ्चालनको छानबिन उपसमिति संयोजक रहेका लिङ्देनले सबै प्रविधि जडान नगर्दै उडान गरेको विषयमा व्यापक छानबिन आवश्यक रहेको बताएका छन्। 

‘यात्राका साधनमध्ये हवाइ यात्रालाई सबैभन्दा सुरक्षित मानिन्छ तर नेपालको सन्दर्भमा असुरक्षित र भयावह साधनको रुपमा देखिएको छ’, लिङ्देनले भने, ‘सुरक्षित र व्यवस्थित बनाउन सबैको ध्यान दिन जरुरी छ।’

अनुसन्धानको दायरामा आउने प्रमुखका भिनाजुलाई छानबिन आयोगको प्रमुख बनाइएको भन्ने बाहिर आएको समेत उनले बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमन दुर्घटना जाँचबुझ आयोगको अध्यक्ष छन्। प्राधिकरणको सुरक्षा शाखाका प्रभाकर मल्लिक उनका साला हुन्। उनी जहाजको इन्जिन ठीक छ÷छैन हेर्ने जिम्मेवारीमा रहेका छन्। सांसद लिङ्देनले यसमा प्रश्न उठाएका हुन्। 

सरकारले कारबाही गर्छ त महानिर्देशक अधिकारीलाई?
महानिर्देशक अधिकारीलाई तत्कालीन मन्त्री सुदन किराँतीले स्पष्टीकरण सोधेका थिए। मन्त्री किराँती र अधिकारीबीच विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिलाएका थिए। 

तत्कालीन नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा मन्त्रिपरिषद्ले जुनियर अधिकारीलाई महानिर्देशक बनाएको थियो। अधिकारीले हवाइ सुरक्षामा संवेदनशील भएको बताउँदै पाइलटलाई र वायुसेवा कम्पनीहरुलाई कारबाही गरे पनि दुर्घटनामा कमी हुनसकेको छैन।

प्राधिकरणले सुरक्षा मापदण्डमा ध्यान नदिँदा धनजनको क्षति भइरहेकोमा संसदमा प्रश्न उठेको छ। 

प्राधिकरणको बोर्ड अध्यक्ष रहने उड्डयन मन्त्री बद्री पाण्डेले अहिलेसम्म सार्वजनिक रुपमा खुलेर बोलेका छैनन्। 

‘संसदमा राजीनामा वा निलम्बनको कुरा उठिरहेको छ। तर मन्त्रीज्यूले अहिलेसम्म यस विषयमा कुनै निर्णय गरिसक्नुभएको छैन’, मन्त्रीको सचिवालयका एक सदस्यले भने। 

प्राधिकरणले भने संसदमा प्रश्न उठेको विषयलाई सुधार गर्ने सुझावको रुपमा लिएको बताएको छ।  

‘प्राधिकरणको नेतृत्व, संगठन संरचनामा बाहिर प्रश्न उठ्नुलाई सकारात्मक रुपमै लिएका छौँ’, प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भने, ‘जायज प्रश्न र सुझावको आधारमा हाम्रा कुनै कमजोरी भए सच्याउने हो।’

हवाइ क्षेत्रको सुरक्षाको जिम्मेवारी उड्डयन प्राधिकरणको भएकाले कमी कमजोरी भए स्वीकार गर्दै अघि बढ्न सकिने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .