ad ad

कारोबार


विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाउने तयारी

‘कार्यकारी निर्देशकलाई पनि हटाएर ठूलो दुर्घटना निम्त्याउन खोजेको देखिन्छ’
विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाउने तयारी

स्पष्टीकरण सोधिएका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य


नेपालखबर
साउन १६, २०८१ बुधबार १५:१०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाउने तयारी गरेको छ। 

डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुन: लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको हो। 

सञ्चालक समितिमा पुन उपभोक्ता समूहबाट र आचार्य जलविद्युत् क्षेत्रबाट सदस्य रहेका छन्। 

प्राधिकरणको सञ्चालक ऊर्जा मन्त्रालयले नियुक्त गर्छ। मन्त्रालयले यसअघि सदस्य हटाउने र अदालतको आदेशले फर्किएका उदाहरण पनि छन्। 

‘मन्त्रालयबाट सरकारको निर्देशनविपरीत ६ वटा उद्योगमा लाइन जोड्ने विषयमा किन नोट अफ डिसेन्ट लेखेको भनी स्पष्टीकरण सोधिएको छ’, स्पष्टीकरण सोधिएका सञ्चालक सदस्य आचार्यले भने, ‘मन्त्रिपरिषद्ले लिखित निर्देशन दिएको पनि थिएन। सञ्चालक समिति सदस्यले आफ्नो मत राख्न पाउँछन्।’

समिति सदस्यले निर्णयमा फरक मत राखेकै आधारमा हटाउन खोजेको छ। स्पष्टीकरणपछि सरकारले सदस्यबाट हटाए कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले सुनाए। 

‘प्राधिकरणले बक्यौता उठाउनुपर्छ भन्दा आज हामीलाई स्पष्टीकरण सोधियो’, उनले नेपालखबरसँग भने, ‘भोलि कार्यकारी निर्देशकलाई पनि हटाएर ठूलो दुर्घटना निम्त्याउन खोजेको देखिन्छ।’

विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। त्यसको २५ प्रतिशत जरिवाना जोडेर प्राधिकरणले उद्योगमा बिल पठाएको थियो। उद्योगले प्रमाण नभएको भन्दै तिर्न नमानेपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्राधिकरण बोर्ड बैठकले तत्काललाई विद्युत् जडान गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .