ad ad

कारोबार


बढ्न थाल्यो कर्जा, धितोमा घरजग्गाकै भर : ११ महिनामा अर्थतन्त्रका कुन सूचक कस्ता?

बढ्न थाल्यो कर्जा, धितोमा घरजग्गाकै भर : ११ महिनामा अर्थतन्त्रका कुन सूचक कस्ता?

नेपालखबर
असार २६, २०८१ बुधबार १८:३५, काठमाडौँ

चालू आर्थिक वर्षको ११ महिनामा देशको अर्थतन्त्र सहज अवस्थामा देखिएको छ।

यो अवधिमा आयात, निर्यात र कुल वस्तु व्यापारघाटा गत वर्षको तुलनामा उल्लेख्य घट्दा ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ शोधनान्तर बचतमा देखिएको छ।

कुल विनिमय सञ्चिति पनि १९ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। 

त्यस्तै नेपालमा भित्रिने रेमिट्यान्समा पनि उल्लेख्य वृद्धि भएको छ। अर्थतन्त्रको अवस्था मापन गरिने यी सूचकहरु चालू आवको यो अवधिमा सुधारात्मक देखिएका हुन्।

यस्तो छ आन्तरिक तथा बाह्य अर्थतन्त्रका प्रमुख सूचकको अवस्था 

घट्यो उपभोक्ता मुद्रास्फीति
चालू आवको जेठ महिनामा उपभोक्ता मुद्रा स्फिती घटेको छ। अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति २०८१ जेठ महिनामा ४.१७ प्रतिशत सीमित रहेको हो। 

यसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.९४ प्रतिशतमा सीमित रहेको हो।

खाद्य तथा पेय पदार्थ तर्फ तरिकारीको मूल्य १६ प्रतिशत, दाल गेडागुडी ११.७६ प्रतिशतले मुद्रास्फीति घट्दा मदिराको ५.९५ प्रतिशतले घटेको हो   

आयातनिर्यात घट्यो
आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा आयात र निर्यात दुवै घटेको छ। यो अवधिमा कुल वस्तु निर्यात ३.० प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ।

यस्तै यो अवधिमा आयातमा १.८ प्रतिशतले कमी आएको छ। जेठ मसान्तसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड बस्तु तथा सेवा आयात भएको हो। 

समग्रमा ११ महिनामा कुल वस्तु व्यापारघाटा १.७ प्रतिशतले कमी आई १३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो। 

११ महिनामा १३ खर्ब धेरै रेमिट्यान्स
११ महिनामा नेपालमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। 

यस्तै यो ११ महिनामा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो।

चालू खाता र शोधनान्तर दुवैमा सुधार  
समीक्षा अवधिमा चालू खातामा उल्लेख्य सुधार देखिएको छ। यो अवधिमा चालू खाता २ अर्ब ३९ करोडले बचतमा रहेको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको हो। 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो।

यस्तै शोधनान्तर स्थितिमा पनि उल्लेख्य सुधार भएको छ। चालू आवको ११ महिनामा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो। 

साढे १२ महिनाको वस्तु तथा सेवाको आयात धान्ने सञ्चिति
२०८० असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८५ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम पुगेको हो। 

आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

सरकारको खर्चमा ०.४ प्रतिशतको मात्रै वृद्धि
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ८१ अर्ब ३० करोड भएको छ।

सरकारी खर्च गत आर्थिक वर्षको ११ महिनामा १३.६ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ०.४ प्रतिशतले मात्र वृद्धि भएको हो। 

समीक्षा अवधिमा चालू खर्च ८ खर्ब २२ अर्ब ८१ करोड, पँुजीगत खर्च १ खर्ब ३४ अर्ब ९८ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब २३ अर्ब ५१ करोड रहेको छ। 

यो अवधिमा ९ खर्ब १९ अर्ब १९ करोड राजस्वबापत उठाएको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा ११.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको हो। 

बढ्न थाल्यो कर्जा प्रवाह, धितोमा घरजग्गाकै भर 
चालू आवको जेठ मसान्तसम्म कर्जा प्रवाह ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ प्रवाह भएकोमा चालू आवमा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँको कर्जा प्रवाह भएको हो। 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। जसमा ६५.५ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रमा प्रवाह भएको हो। व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश भने ३६.५ प्रतिशत छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो। 

उल्लिखित कर्जामा ६८.५ प्रतिशत सुरक्षण (धितो) घर जग्गा राखिएको छ। भने १२ प्रतिशत कर्जामा धितो कृषि तथा गैर कृषिजन्य वस्तु राखिएको छ। 

यो अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह आवधिक कर्जातर्फ छ भने थोरै कृषि कर्जातर्फ छ। यस्तै यो अवधिमा अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले घट्दा हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .