मधेस प्रदेशमा करिब ४५ प्रतिशत धान रोपाइँ सकिएको छ।
अन्नको भण्डार भनेर चिनिने यस प्रदेशमा असारको अन्तिम साता सुरु हुँदा जम्मा ४५ प्रतिशत मात्रै रोपाइँ भएको हो।
धान खेती हुने कुल ३ लाख ८१ हजार हेक्टरमध्ये हालसम्म ४५ प्रतिशत रोपाई सकिएको प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार असारको मध्यबाट सुरु भएको वर्षापछि धेरैजसो किसानले धान रोप्न पाएका हुन्।
उत्पादकत्व बढाउने प्रदेश सरकारको महत्त्वाकांक्षी लक्ष्य
आगामी वर्ष धानको उत्पादकत्व बढाउने प्रदेश सरकारको लक्ष्य छ।
हाल मधेस प्रदेशमा धानको उत्पादकत्व ३.६ मेट्रिक टन (प्रतिहेक्टर) रहेको छ। जुन राष्ट्रिय उत्पादकत्वभन्दा कम हो। यस वर्ष ३.६ बाट बढाएर प्रतिहेक्टर ४ मेट्रिक टन पुर्याउने लक्ष्य प्रदेश सरकारले राखेको छ।
कृषि मन्त्रालयका सचिव शरण कुमार पाण्डेले भने, ‘सुन्दा यो महत्त्वाकांक्षी लाग्न सक्छ तर हामी आगामी वर्ष चार पुर्याउने गरी काम गरिरहेका छौँ। यस वर्ष पानी पनि समयमै परेको हुनाले र मलको पनि अभाव नदेखिएकाले आगामी वर्ष हामीले उत्पादन लिन सक्छौं भन्ने नै हो।’
धान खेती हुने क्षेत्रमा पछिल्लो समय कतिपय किसानले धान छोडेर उखु, आँप लगायतका फलफूल रोप्न थालेका छन्। धान खेती हुने कति क्षेत्रफल घट्यो भनेर मन्त्रालयले अध्ययन भने गरेको छैन। क्षेत्रफल घटे पनि उत्पादकत्व बढाएर उत्पादनको सन्तुलन मिलाउने योजनामा मन्त्रालय छ।
मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ जिल्लामध्ये बारा र सर्लाहीमा अन्य जिल्लाभन्दा बढी धान उत्पादन हुने गर्दछ।
Shares
प्रतिक्रिया