ad ad

कारोबार


सरकारले इन्टरनेटलाई पनि राख्यो अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही

सरकारले इन्टरनेटलाई पनि राख्यो अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही

नेपालखबर
असार ४, २०८१ मंगलबार १४:१३, काठमाडौँ

सरकारले २५ वटा सेवालाई अत्यावश्यक भन्दै बन्द र हडताल गर्न निषेध गरेको छ। 

गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सोमबार आदेश जारी गरेको हो। 

आदेशअनुसार ती सेवामा हडताल गर्न पाइनेछैन। यदि हडताल गरेमा अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार कारबाही हुनेछ। 

यसअनुसार इन्टरनेट सेवालाई पनि सरकारले अत्यावश्यक सेवाभित्र राखेको छ। पछिल्लो समय इन्टरनेट व्यवसायी र सरकारबीच करको विषयमा विवाद हुँदै आएको छ।

केही समयअघि व्यवसायीहरुले भारतमा इन्टरनेट सेवाको शुल्क बुझाउन सरकारले सटही सुविधा रोकेको आरोप लगाएका थिए।

सोही कारण इन्टरनेट भारतबाटै लाइन काटिएको व्यवसायीले दाबी गरेका थिए। केही समयअघि निजी क्षेत्रबाट उपलब्ध इन्टरनेट सेवामा अवरोध नै हुनपुगेको थियो। उनीहरुले करसम्बन्धी विवादमा सर्वोच्चमा दायर गरेको मुद्दा नै खारेज भइसकेको छ।

सम्भावित अवरोधलाई मध्यनजर गरी सरकारले इन्टरनेट सेवालाई पनि २५ वटा अत्यावश्यक सेवाको सूचीमा राखेको हो।  

यी हुन् २५ अत्यावश्यक सेवा
यसअनुसार डाँक, तार वा टेलिफोन सेवा, जलस्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा वा हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा रहेका छन्। 

त्यसैगरी हवाइ ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवालाई अत्यावश्यक मानिएको छ। 

यसबाहेक सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चलन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा पनि अत्यावश्यकमा परेका छन्। 

गृह मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स सेवाजस्ता सेवाहरु) अत्यावश्यक हुनेछन्। 

यस्तै औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत् सेवा पनि अत्यावश्यक सूचीमा अटाएका छन्। 

दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट अत्यावश्यक सेवामा परेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .