ad ad

कारोबार


धितोपत्र बोर्डको अध्यक्षका लागि आज अन्तर्वार्ता, यी हुन् ५ दाबेदार

धितोपत्र बोर्डको अध्यक्षका लागि आज अन्तर्वार्ता, यी हुन् ५ दाबेदार

नेपालखबर
असार २, २०८१ आइतबार १२:३४, काठमाडौँ

झण्डै ५ महिनादेखि रिक्त नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि छनौट भएका पाँच जनाको अन्तर्वार्ता अहिले हुँदै छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वको सिफारिस समितिसमक्ष प्रत्याशीहरुले आफ्नो प्रस्तुतीकरण दिइरहेका छन्। 

अन्तर्वार्ताका लागि नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ छनौट भएका छन्। 

आजको अन्तर्वार्तामा पाँचै जनाले आफ्ना व्यावसायिक कार्ययोजनाहरु समितिमा प्रस्तुत गर्नेछन्।

उनीहरुको व्यावसायिक प्रस्तुतिका आधारमा छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ। तीनमध्ये मन्त्रिपरिषदले एक जनालाई बोर्डको अध्यक्ष चुन्नेछ। 

यसअघि राजनीतिक खिचातानीमा पर्दै आएको अध्यक्ष नियुक्तिले अब भने तीव्रता पाएको छ। गत फागुनमा १५ गते नै सरकारले योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको छनौट समिति गठन गरेर नियुक्त प्रक्रिया अगाडि बढाएको थियो।

तर अर्थमन्त्रीको ठाडो निर्देशनमा अन्तर्वार्ताका लागि उम्मेदवार छनौट गरे पनि त्यसपछिको प्रक्रिया अघि बढ्नसकेको थिएन।

यसअघि छनौट भएकै उम्मेदवारहरुलाई आज अन्तर्वार्ता लिन लागिएको हो। आज प्रस्तुतीकरण दिने उम्मेदवारहरुमा ३ जना धितोपत्र क्षेत्रकै नेतृत्व सम्हालिरहेका छन् भने एक जना बिमा क्षेत्रका र एक जना व्यवसायी छन्।

कृष्ण बहादुर कार्की नेपाल स्टक एक्स्चेन्जको नेतृत्व सम्हालिरहेका व्यक्ति हुन् भने डा.नवराज अधिकारी र मुक्ति श्रेष्ठ धितोपत्र बोर्डकै कार्यकारीको रुपमा काम गरिरहेका छन्।

यसबाहेक तत्कालीन बीमा समिति (अहिलेको बीमा प्राधिकरण) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन्। 

अध्यक्ष नियुक्ति पूर्ण राजनीतिक नियुक्ति हुने हुँदा आजको छनौट समितिमा राजनीतिक पहुँच बलियो भएकाको सम्भावाना बलियो देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .