ad ad

कारोबार


नेपालमा उद्योग खोलेका भारतीय कम्पनीले भने- कच्चा पदार्थमा कर बढी भयो, आयातितसँग प्रतिस्पर्धा गर्न सकिएन

उपप्रधानमन्त्री श्रेष्ठको आश्वासन- प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलगायतसँग छलफल गर्छु
नेपालमा उद्योग खोलेका भारतीय कम्पनीले भने- कच्चा पदार्थमा कर बढी भयो, आयातितसँग प्रतिस्पर्धा गर्न सकिएन

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:४४, काठमाडौँ

नेपालमा उद्योग खोलेका भारतीय कम्पनीहरूले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने भन्सार एउटै भएको गुनासो गरेका छन्। 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निवासमा अनौपचारिक भेटघाटमा कम्पनीका प्रतिनिधिहरूले कच्चा पदार्थमा कर बढी हुँदा नेपालमा उद्योग खोलेका व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो गरेका हुन्। 

नेपाल भारत उद्योग वाणिज्य संघमा आबद्ध कम्पनीका प्रबन्धनिर्देशक र कन्ट्री म्यानेजर (देशीय प्रबन्धक)ले उद्योगलाई प्रवर्द्धन गर्न आग्रह गरे। 

‘नेपालमा ठूलो उद्योग सञ्चालन गरिरहेका भारतीय कम्पनीका प्रतिनिधि र परराष्ट्रमन्त्रीसँग अनौपचारिक भेटघाट भएको हो’, नेपाल भारत उद्योग वाणिज्य संघका महानिर्देशक केशवमान सिंहले भने, ‘नेपालमा स्थापना भएका उद्योगले आयातित तयारीका वस्तुसँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो भएको छ।’

सरकारले उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र तयारीका वस्तुमा एक तहको फरक छुट्याएको बताउँदै आएको छ। तर कतिपय कच्चापदार्थको रुपमा भित्रिने वस्तुमा कर लगाएको बताएका छन्।

‘नेपालमा उत्पादन बढाउने गरी सरकारी नीति हुन आवश्यक छ। कोभिडपछि निर्माण क्षेत्र र उत्पादनमूलक उद्योग नकारात्मक अवस्थामै छ’, सिंहले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन अझै २–३ वर्ष लाग्ने विषयमा छलफल भयो।’

छलफलमा सूर्य नेपालका प्रबन्धनिर्देशक रविकुमार रायभरम, बर्जर जेन्सन एन्ड निकल्सन पेन्टर्सका काउन्ट्री म्यानेजर शैवाल घोष, युनिलिभर नेपालका प्रबन्धनिर्देशक अम्लान मुखर्जी, निर्देशक रविभक्त श्रेष्ठ, स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरख शमशेर राणा, एसियन पेन्ट्स नेपालका प्रबन्धनिर्देशक अभिमान बरारिया, डाबर नेपालका फाइनान्स कन्ट्रोलर र नेपाल भारत उद्योग वाणिज्य संघका महानिर्देशक केशवमान सिंह थिए। 

उपप्रधान तथा पराराष्ट्रमन्त्रीले नेपालको अर्थतन्त्र चलायमान हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए। उनले नेपालले निर्यात बढाउन नसकेको रेमिट्यान्समै भर पर्ने अवस्था रहेको औँल्याए।

भारतीय कम्पनीका उच्चतहका व्यवस्थापकले राखेका समस्या प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री लगायतसँग पुर्‍याएर छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले आश्वासन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .