ad ad

कारोबार


चुनावी नतिजाको असर भारतीय सेयरबजारमा, एनडीएको झिनो बहुमतको डरले भारी गिरावट

चुनावी नतिजाको असर भारतीय सेयरबजारमा, एनडीएको झिनो बहुमतको डरले भारी गिरावट

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १७:१०, काठमाडौँ

लोकसभा चुनावको जारी मतगणनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपी नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा नआउने देखाएपछि भारतीय सेयरबजारमा तीव्र गिरावट आएको छ। 

भारतीय मिडियाका अनुसार नतिजा आउने क्रम जारी हुँदा बीएसपी सेन्सेक्स ४३०० भन्दा बढी अंकले घटेको छ भने निफ्टी पनि २२००० विन्दुभन्दा तल पुगेको छ।

भारतीय सेयरबजारका मुख्य दुई सूचक हुन् निफ्टी र सेन्सेक्स। यी दुवै बेन्चमार्कमा ठूलो गिरावट देखिएको हो।

आज सेन्सेक्स ४३८९.७३ अंकले घटेर ७२०७९.०५ अंकमा र निफ्टी १३७९.४० अंकले घटेर २१८८४.५० अंकमा बन्द भएको बताइएको छ।

चुनावी नतिजा आउने दिन बिहान ७०२३४.४३ को स्तरमा घटेको सेन्सेक्स पछि केही रिकभर भएको थियो। बिहान सेन्सेक्स ७६२८५.७८ को स्तरमा खुले पनि ह्वात्तै गिरावट आएको थियो। यता निफ्टी ५० आज १३७९ अंकले घटेर २१,८८४.५० को स्तरमा बन्द भएको नवभारत टाइम्सले जनाएको छ। 

उच्च गिरावटसँगै भारतीय सेयरबजारमा तेल र ग्यास सूचक १० प्रतिशतले घटेको छ। 

बीएसई सेन्सेक्स र निफ्टी५० आज झण्डै ६ प्रतिशतसम्मले घटेपछि टाइम्स अफ इन्डियाले आजको बजार पर्फमेन्सलाई ‘टेरिबल ट्युजडे’ भनेको छ। यो चार वर्षयताकै ठूलो गिरावट हो।

सोमबार भारतीय सेयरबजार ३ प्रतिशतले बढे पनि मंगलबार ठूलो पहिरो गएको हो। ठूलो गिरावटपछि बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ३ हजार ९ सय ५५ खर्ब १ अर्ब ४२ करोड भारु छ। अघिल्लो दिन यो अंक ४ हजार २ सय ५९ खर्ब १५ अर्ब ११ करोड ५४ लाख भारु रहेको थियो। 

कम्पनीहरुको सेयरमा कस्तो असर? 
सेयरबजारमा आएको चार वर्षयताकै ठूलो पहिरोले धेरै कम्पनीको सेयर मूल्य प्रभावित भएको छ। टाइम्स अफ इन्डियाका अनुसार ३५३ कम्पनीको सेयर ५२ हप्तायताकै न्यून विन्दुमा पुगेका छन्। बीजेपी नेतृत्वको गठबन्धन एनडीएले सरकार बनाए पनि आशा गरेभन्दा सानो बहुमत मिल्ने देखिएकाले सेयर लगानीकर्ता निरुत्साहित भएको बताइएको छ। 

विशेषगरी भेरितास एडभरटाइजिङ र बोधी ट्रि मल्टिमिडियाको सेयर २० प्रतिशतले घटेर क्रमशः प्रतिकित्ता १७०.३० र ११.७ भारुमा झरेका छन्। यता टाटा ग्रुप कम्पनीका टाटा एलक्सी र टाटा टेक्नोलोजीले क्रमशः ७.८ प्रतिशत र ५ प्रतिशत गिरावट व्यहोरेका छन्। एचडीएफसी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ७ प्रतिशतले घटेर ५२ हप्तायताकै न्यून विन्दुमा आइपग्दा बजाज फिनसर्भको सेयर ६.२ प्रतिशतले घटेर १ हजार ४ सय १९ र एसबीआई कार्ड एन्ड पेमेन्ट सर्भिसको पनि सेयर घटेर ६४९ भारुमा झरेको छ। 

त्यसैगरी धेरै अन्य कम्पनीहरु इन्डिया सिमेन्ट, डाल्मिया भारत, पिरामल इन्टरप्राइजेस, क्यान फिन होमको सेयरमा पनि भारी गिरावट आएको छ। यसबाहेक राम्को सिमेन्ट, इन्डियामार्ट इन्टरमेश, डेल्टा कर्प, बर्जर पेन्ट्स, सिन्जिन टेक्नोलजिज, अनुपम रसायन, केआरबीएल, युरेका फोर्ब्स र एलटीआईमाइन्डट्रिजस्ता अन्य धेरै कम्पनीको सेयरमा उच्च गिरावट आएको छ। 

मोदी निकट अदानी ग्रुपलाई झट्का 
चार वर्षयताकै ठूलो गिरावटले भारतीय प्रधानमन्त्री निकटस्थ मानिने अर्बपति गौतम अदानीको अदानी ग्रुप कम्पनीलाई ठूलो झट्का लागेको बीबीसीले जनाएको छ।

पूर्वाधार र ऊर्जा क्षेत्रका यी कम्पनीको सेयरमा २० प्रतिशतभन्दा बढीको गिरावट आएको छ। सोमबार भने यी कम्पनीका सेयर कीर्तिमानी हिसाबले बढेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .